Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

‘ममी’को प्रिमियरमा बोल्ड अवतारमा देखिइन् प्रियंका कार्की

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘ममी’को प्रिमियर काठमाडौंमा गरिएको छ । फिल्म हेरेर फर्किएका फिल्मीकर्मीहरुले यसलाई उत्कृष्ट भनेका छन् । दर्शकले, नेपाली फिल्ममा अहिलेसम्मकै उत्कृष्ट हरर फिल्म हेर्न पाउने तर्क उनीहरुको छ ।

फिल्मको प्रिमियरमा मुख्य कलाकारहरु प्रियंका कार्की, सुलक्षण भारती, दीया मास्के पुगेका थिए । यस्तै, फिल्म हेर्नका लागि निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, नवल नेपाल, निर्माता छविराज ओझा, नायिका केकी अधिकारी, नायक सलिनमान बनियाँ, सलोन बस्नेत, पूर्व मिस नेपाल तथा नायिका नम्रता श्रेष्ठ लगायत पुगेका थिए । यो फिल्मलाई निर्माणपक्षले फ्यामिली हरर फिल्म भनेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन छ । लोकराज जोशी तथा पूर्णिमा जोशीको लगानी रहेको फिल्ममा सुमन कोइराला कार्यकारी निर्माताको रुपमा छन् । यो फिल्ममा निशाल पौडेल र शरद महत्तोको छायांकन, सुरेन महर्जनको सम्पादन छ ।

फिल्मको बलियो वर्ड अफ माउथ आएको खण्डमा यसले सुखद सुरुवात गर्नेछ । कार्यक्रममा नायिका प्रियंका कार्की कालो पहिरनमा बोल्ड बनेर पुगेकी थिइन् । उनको अभिनयको पनि फिल्मीकर्मीले तारिफ गरिरहेका छन् ।