Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सुप्रिम सहकारी प्रकरणः रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा आज पूर्व गृहमन्त्री समेत रहेका लामिछाने, पूर्व डीआईजी छविलाल जोशी लगायत ४२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ ।

प्रहरीले थप १४ गरी ४२ जना विरुद्ध मुद्दा चलाउने राय दिएपछि आज लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको हो । सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको थियो ।

रविविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ । सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो। यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो ।