Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

साइकल यात्रीको झोलामा साढे १५ लाखको ‘बिटा’

भैरहवा–तौलिहवा सडकखण्डस्थित मायादेवी गाउँपालिका–६, डुमरा चोक नजिकै बिहीबार साँझ साइकल यात्रीको झोलाबाट स्रोत नखुलेको १५ लाख ७० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।


विशेष सूचनाका आधारमा मायादेवी गाउँपालिका–७, हरनामपुरका ३० वर्षे निरजकुमार मिश्रालाई पश्चिमबाट डुमरा चोक आउँदै गर्दा नगद सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए ।

झोलामा एक हजार दरका ८९० वटा, पाँच सय दरका एक हजार ३२० वटा, सय दरका १८० वटा र पचास दरका ४० वटा नोट रहेको प्रहरीले जनाएको छ ।

मिश्राले चलाएर आइरहेको साइकलमा झुन्ड्याएको कालो झोलामा लुकाएर राखेको अवस्थामा रकम बरामद गरिएको थियो । पक्राउ परेका मिश्रा प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।