Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

बाल गायक सचिन परियारको निधन

सामाजिक सञ्जालमा चर्चित बाल गायक सचिन परियारको १३ वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान करिब १० बजे उनी बितेका हुन् ।

उनको निधन भएको पारिवारिक स्रोत र अस्पताल स्रोतले पुष्टि गरेको छ । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । सचिनका बाबु तेजेन्द्र परियारले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । सचिनको शव अस्पतालबाट निकालिएको छैन । बाबु र परिवारका सदस्यहरु अस्पतालमा छन् ।

सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए। ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन्।

मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिकरूपमा कमजोर थिए । पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे । बुवा तेजेन्द्र परियारले छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ ।