Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

अमेरिकामा कति छन् नेपाली?, १० वर्षमा ५३ लाख नेपालीले भरे डीभी

एक अध्ययनले अमेरिकामा आप्रवासी नेपालीको संख्या एक लाख ८५ हजारदेखि दुई लाख १५ हजारसम्म रहेको देखाएको छ । डा. अरुण जोशी, विभव प्रधान र रुजेल श्रेष्ठले तयार पारेको अध्ययन प्रतिवेदन 'नेपाली माइग्रेन्ट ड्रिम्स इन द अमेरिकन ल्यान्डस्केपः एन एक्सप्लोरेसन अफ द डायस्पोरा इन द युनाइटेड स्टेटस’मा उक्त आँकडा प्रस्तुत गरिएको हो ।

प्रतिवेदन इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडीज (आईआईडीएस)ले सार्वजनिक गरेको हो । सन् २०२० को अमेरिकी जनगणनाको आधारमा नेपालीको उक्त संख्या अनुमान गरिएको आईआईडीएसद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।अमेरिकामा रहेका नेपालीमध्ये ६८.३ प्रतिशत पछिल्लो १२ वर्षमा त्यहाँ पुगेको पाइएको छ । अर्थात्, सन् २०१० पछि उनीहरू अमेरिका गएका थिए ।

सबैभन्दा बढी नेपालीहरू अमेरिकी राज्य टेक्सास, क्यालिफोर्निया, भर्जिनिया, मेरिल्यान्ड र न्युयोर्कमा रहेको अध्ययनले देखाएको छ । यस्तै, सबैभन्दा बढी नेपाली रहेका सहरमा डलास फोर्थ वर्थ, रिचमण्ड, बाल्टिमोर, सान फ्रान्सिस्कोमा छन् ।

सबैभन्दा ठूलो संख्यामा नेपालीहरू (५८ प्रतिशत) शैक्षिक अवसर खोज्दै अमेरिका पुगेको पाइएको छ । अमेरिका पुग्नेमध्ये २६ प्रतिशत अनुमान गर्न नसकिने नेपालको राजनीतिक अवस्थाका कारण त्यहाँ गएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सन् २०१२ देखि २०२१ सम्मको अवधिमा नेपालबाट ईडीभी कार्यक्रममा ५३ लाख आवेदन परेको थियो । सन् २०२१ मा ईडीभी आवेदन दिने एसियाली राष्ट्रमा दोस्रो ठूलो संख्या नेपालीको थियो । औसतमा हरेक वर्ष लगभग चार हजार ९८ जना ईडीभी आवेदकहरू नेपालबाट छनोट हुने गरेका छन्, जुन विश्वव्यापी रूपमा छनोट गरिएकोको ७.४५ प्रतिशत हो ।

अधिकांश नेपाली आप्रवासीहरूले अमेरिका जाँदा १० हजार अमेरिकी डलरभन्दा कम खर्च गर्ने गरेको अध्ययनले देखाएको छ । तर, धेरैले ५० हजार अमेरिकी डलरभन्दा बढी खर्च भएको बताउने गरेका छन् । गत वर्ष मात्रै एक लाख १२ हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकेट लिएका थिए । यसको अर्थ राम्रो गुणस्तरीय शिक्षा लिने वहानामा हरेक दिन ३०० भन्दा बढी विद्यार्थीले नेपाल छाडेको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्ष अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीले १२५ अर्ब रुपैयाँ नेपालबाट बाहिर लगेको प्रतिवेदनमा जनाइएको छ ।  यो रकम भनेको नेपालको कुल निर्यात आम्दानीको ७८ प्रतिशत भएको दाबी प्रतिवेदनमा गरिएको छ ।

आप्रवासी नेपालीले ठूलो मात्रामा रेमिट्यान्स नेपाल पठाउने गरेको प्रतिवेदनमा जनाइएको छ । ५९.६ प्रतिशत आप्रवासी नेपालीले नेपालमा रेमिट्यान्स पठाउने गरेका छन् । सन् २०२३ मा अमेरिकामा रहेका नेपालीले १.२८ अर्ब अमेरिकी डलर रेमिट्यान्स नेपाल पठाएको अध्ययनले देखाएको छ । यो नेपालले प्राप्त गर्ने कुल रेमिट्यान्सको ११.६ प्रतिशत हो ।

प्रतिवेदनअनुसार सन् २०२३ मा औसतमा एकजनाले अमेरिकाबाट नेपालमा आठ हजार ६३३.०४ अमेरिकी डलर रेमिट्यान्स पठाएका थिए । अमेरिकाबाट एकजनाले पठाउने औसत रेमिट्यान्स कतारबाट पठाउनेको तुलनामा १.५१ गुणाबढी, मलेसियाको भन्दा २.२८ गुणाले, यूएईभन्दा १.७२ गुणाले र साउदी अरेबियाको भन्दा १.९५ गुणा बढी भएको प्रतिवेदनमा उल्लेख छ ।

१० प्रतिशत आप्रवासी नेपालीले नेपालमा लगानी गरेका अध्ययनले देखाएको छ । उक्त लगानी घरजग्गामा बढी केन्द्रित छ । जलविद्युत्, र शिक्षा क्षेत्रमा पनि उनीहरूको लगानी रहेको जनाइएको छ ।