Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

प्रदर्शनमा आउने बित्तिकै ‘बेहुली फ्रम मेघौली’ को क्लिप सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि...

घटस्थापनाको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको छ । कतिपयले हलमा चलचित्रका दृश्यहरूलाई खिचेर टुक्राटुक्रा पारेर सामाजिक सञ्जालमा राखेका छन् ।

यो चलचित्रले समाजले युवतीहरूलाई विवाहका लागि दिने दबाब र त्यसले निम्त्याउने क्रियाकलापलाई रोचकशैलीमा प्रस्तुत गरेको छ । अभिनेत्री स्वस्तिमा खड्का तथा निर्देशक निश्चल बस्नेतको लगानीमा बनेको फिल्ममा मुल्य भुमिकामा पनि निश्चल र स्वस्तिमालाई देख्न सकिन्छ । तर प्रदर्शनमा आउनेबित्तिकै फिल्मका क्लिप सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि यसले फिल्मको निर्माण पक्षलाई प्रभाव पारेको छ ।

यसैबीच चलचित्र विकास बोर्डले यस्तो गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । एक सूचना जारी गर्दै बोर्डले चलचित्रका दृश्यहरू खिचेर अनधिकृत रूपमा सामाजिक सञ्जालमा राखेमा उसको उपकरण जफत गरी दण्ड, जरिवाना तथा क्षतिपूर्ति तिराउने जनाएको छ ।

यसले चलचित्र निर्माताहरूको लगानी जोखिममा परेको र यसमा संलग्न सम्पूर्ण व्यक्तिहरूको मेहनत बेकार जाने जोखिम रहेको सूचनामा उल्लेख छ । साथै, चलचित्रघरभित्र भिडिओ खिच्ने सामग्रीको प्रयोग नगर्न र नगराउन बोर्डले सबैलाई आग्रह गरेको छ ।

पछिल्लो समयमा विशेषगरी टिकटक, इन्स्टाग्राम तथा फेसबुक रिल्सजस्ता प्लेटफर्महरूमा चलचित्रका दृश्यहरू पोस्ट हुने समस्या नेपाली चलचित्र निर्माताहरूले बारम्बार भोगेका छन् । यसअघि फूलपातीमा प्रदर्शनमा आउन लागेको फिल्म ‘ज्वाईसाब’ को क्लाइमेक्स दृश्स सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।