Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

राजेश हमाल आठ वर्षपछि फिल्ममा फर्किदै

नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झण्डै आठ वर्षपछि अभिनयमा फर्किने भएका छन् ।हमाल निर्देशक दिवाकर भट्टराईको एक ‘अनटाइटल’ फिल्ममा अनुबन्ध भएका हुन् । 

आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी गराएका छन् । सहमतिको जानकारी दिँदै उनले लेखेका छन्, ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’

पछिल्लो पटक फिल्म ‘सकुन्तला’ मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि फिल्ममा देखिएका छैनन् । बरु उनले म्युजिक भिडिओमा आफूलाई समय दिइरहेका थिए । एक्सन प्रधान रहने फिल्ममा हमालले झण्डै ८ वर्षपछि कमब्याक गर्ने भएका हुन् ।

आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको फिल्मको नाम केही दिनमा घोषणा गरिने निर्माणपक्षको भनाइ छ । निर्देशक दिवाकरले फिल्मको कथावस्तु मन पराएपछि हमाल आफ्नो फिल्ममा अभिनयका लागि तयार भएको र यो फिल्मले राजेश हमालको गर्विलो कमब्याक गराउने दाबी गरे ।