Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

प्रधानमन्त्री ओलीले गरे फिल्म ‘नमेटिने घाउ’ को डबिङ

सामाजिक चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो भागको दृश्यको संवाद डबिङ गरेका छन् । शनिबार अनामनगरस्थित एक स्टुडियोमा प्रधानमन्त्री ओलीले स्वरांकन गरेको उनको सचिवालयले जनाएको छ ।

फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा  बन्न लागेको हो । यो चलचित्र अभिनेता रमित ढुङ्गानाले निर्देशन गरेका हुन् । मुस्कान खातुनमाथि २०७६ भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो ।

एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ। प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भममा तत्कालीन प्रधानमन्त्रीको भूमिकामा अभिनय गरेका छन् । चलचित्रमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि अभिनय गरेका छन् ।