नेपाली शास्त्रीय सङ्गीत क्षेत्रमा परिचित व्यक्तित्व गुरुदेव कामतको उपचारका लागि आर्थिक अभाव भएको छ । विगत केही महिनादेखि मिर्गौलामा देखिएको समस्याका कारण काठमाडौँमा उपचार गराइरहेका उनी आर्थिक समस्या भएपछि जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका छन् ।
दुई साताअघि घर फर्किएका कामतको लहानस्थित अस्पतालमा डायलासिस भइरहेको छोरा परमेन्द्रकुमार कामतले जानकारी दिए । उनले भने, ‘बुबालाई जतिसक्दो छिट्टै मिर्गौला प्रत्यारोपण गर्न डाक्टरले सुझाव दिनु भएको छ तर आर्थिक अभावले प्रत्यारोपण गर्न सकेका छैनौं । डायलासिस गरिरहे पनि उहाँको स्वास्थ्य अवस्था दिनानु दिन कमजोर हुँदै गएको छ ।’
सुरुआती दिनमा बुवाका शिष्यबाट प्राप्त सहयोगले उपचार गरे पनि थप रकम नजुट्दा समस्या भएको कामतले बताए । ‘अहिले हामीलाई करिब ३० लाख चाहिएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले सो रकम हामीसँग छैन । त्यसैले विभिन्न व्यक्ति, संस्था र सरकारलाई पनि सहयोगका लागि अपिल गरिरहेका छौँ । बुवालाई बचाउन सबैको सहयोग आवश्यक छ’, कामतले भने ।
शास्त्रीय सङ्गीतमा निकै श्रद्धा गरिने सम्मानित व्यक्ति गुरुदेवको दुवै मिर्गौलामा समस्या देखिएको छ । गत चैतमा समस्याको पहिचान भएपछि उनी काठमाडौँमा बसेर उपचार गराइरहेका थिए तर आर्थिक सङ्कटको सामना गर्नुपरेपछि दुई साताअघि स–परिवार काठमाडौँ छोडेका छन् ।
आर्थिक अभावकै कारण जन्मथलो फर्किएको जानकारी पाएपछि गुरुदेवसँग नजिक रहेका कवि एवं मुक्तककार मुकुन्द पौडेलले सहयोगका लागि पहल गरिरहेको बताए । ‘हालै उहाँका शुभेच्छुक केही व्यक्ति जम्मा भएर सहयोगका विषयमा छलफल गरेका छौँ । उहाँका शिष्य, शुभेच्छुकले सहयोग गर्नुभएमा उपचार गर्न सकिन्छ भन्ने हाम्रो बुझाई हो’, कवि पौडेलले भने । शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन् ।