Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

‘राष्ट्रिय आदिबासी संगीत तथा चलचित्र अवार्ड २०२४’द्वारा लोजिमाका निर्देशक सागर र नायिका बिमलालाई उत्कृष्ट अवार्ड प्रदान

‘राष्ट्रिय आदिबासी संगीत तथा चलचित्र अवार्ड २०२४’हालै काठमाडौंमा आयोजना गरियो । उक्त अवार्ड समारोहमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड लोजिमा चलचित्रबाट निर्देशक सागर सुब्बालाई प्रदान गरियो । त्यस्तै लोजिमा चलचित्रबाटै सर्वोत्कृष्ट नायिकाको अवार्ड बिमला लिम्बुले प्राप्त गरिन । पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न यो अवार्ड समारोहमा आदिबासी गीत संगीतमा १४ विधा र आदिबासी चलचित्रमा ९ विधा गरेर २३ विधामा अवार्ड प्रदान गरियो ।

सर्वोत्कृष्ट निर्देशकको अवार्ड र सर्वोत्कृष्ट नायिकाको अवार्डले लोजिमा टिमको मिहेनेत लगनशीलता र प्रतिभाको कदर भएको साथै यो अत्यन्तै सुखद पलमा लोजिमाको निर्माता सम्पूर्ण कलाकारहरु प्राबिधिक पनि यो अवार्डको हकदार हुनुहुन्छ भन्दै निर्देशक सागर सुब्बाले सबै संग खुशी बाँड्नु भयो ।

१२ औ नेपाल अफ्रिका अन्तरास्ट्रीय फिल्म फेस्टिभल र अप्सना म्युजिक एण्ड फिल्मसमा सर्वोत्कृष्ट अवार्डबाट चलचित्र लोजिमा सम्मानित भइसकेकोछ ।

जीवन्त प्रेमकथा र लिम्बू भाषा-संस्कृतिको संरक्षण एवं प्रबर्धनका लागि चलचित्रले दिन खोजेको सन्देश प्रसंसा योग्य छ । सिक्किम र पूर्वी नेपालको विभिन्न स्थानमा गरी लगभग डेढ दर्जन विशेष शो सम्पन्न भई दर्शकहरुको सकारात्मक प्रतिक्रिया र अपार माया बटुलेको ‘लोजिमा’ ले राजधानीको विशेष प्रदर्शनमा पनि दर्शकको ऐतिहासिक साथ पाएको थियो।
 
लिम्बू समुदायका धार्मिक, सांस्कृतिक र परम्परात्मक रीति रिवाजसँग सम्बन्धित कतिपय महत्वपूर्ण प्रचलनहरु समेत प्रस्तुत गरिएको यो चलचित्र वियोगान्त प्रेमकथामा आधारित रहेको छ । चलचित्रमा बाध्यात्मक परिस्थितिका कारण आफ्नी प्रेमिकालाई छाडेर अर्कै युवतीसँग विवाह गरेपछि भताभुङ्ग भएको नायकको जीवन र आफ्नो प्रेमीले अर्कै केटीसँग विवाह गरेपछि विक्षिप्त बनेकी नायिकाको कारुणिक अवस्थाको बेजोड प्रस्तुति रहेको छ ।

लोजिमा हेर्नुहुने अधिकांश दर्शक मलिन अनुहार लिएर कि त आँसु पुछ्दै हलबाट बाहिरिंदै गर्दा ८-९ वर्षका बालबालिका घुँक्क घुँक्क गर्दै ‘नायिकालाई बचाउन किन सकिएन?’ भन्ने आशयका प्रश्नहरु सोधेर निर्देशक सागर सुब्बालाई बिभिन्न स्थानको दर्शकहरुले प्रश्न गर्ने गरेका छन् ।

जुन दृश्य आफैंमा अकल्पनीय, अनपेक्षित र आश्चर्यजनक थियो । केहीवर्ष अघि ‘सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक अवार्ड’ पाउन सफल शेर्पा संस्कृतिमा आधारित चलचित्र ‘कुसुम’ को निर्देशन गरेर छुट्टै पहिचान स्थापित गरेका सागर सुब्बा ‘लोजिमा’ को प्रदर्शन पछि सिने वृत्तमा पुनः चर्चामा आएका छन् । उनको निर्देशकीय क्षमताको चौतर्फी प्रशंसा भईरहेको छ ।

लिम्बु सस्कृति मुलक चलचित्र लोजिमाले सर्वोत्कृष्ट आदिबासी चलचित्रको अवार्ड राष्ट्रिय ओप्सना म्युजिक एण्ड फिल्म्स अवार्ड २०८१ बाट सम्मानित भएपछि निर्देशक सागर सुब्बाको उचाई अझ बढेको छ ।