विशेष अदालतले गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिने आठ जनालाई एकदेखि चार वर्षसम्मको कैद सजायको फैसला गरेको छ । प्रकरणमा दोषी ठहर दुई जनालाई चार–चार वर्ष, दुई जनालाई दुई–दुई वर्ष र चार जनालाई एक–एक वर्ष कैद सजाय फैसला भएको हो ।
बिल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल र मेरलाइन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई चार(चार वर्ष कैद र जनही ७ करोड ६० लाख रुपैयाँ जरिवाना भएको छ । मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई दुई–दुई वर्ष कैद र जनही ७ करोड ६० लाख रुपैयाँ जरिवाना भएको छ । यस्तै रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई एक–एक वर्ष कैद र जनही ३ करोड ८० लाख रुपैयाँ जरिवाना सुनाइएको छ ।
विशेष अदालतका न्यायधीशहरू खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरूलाई सजाय निर्धारण गरेको हो । अमात्यको १२ बिघा जग्गाको कीर्ते गरेर ऋण लिएको आरोपमा सीआईबीले अनुसन्धान गरेको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले पनि मुद्दा चलाएको थियो । अमात्यको बारास्थित जग्गाको कीर्ते कागजात तयार गरी काठमाडौंको न्यूरोडस्थित कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिएको उनीहरूमाथि अभियोग थियो ।