गायन रियालिटी शो ‘नेपाल आइडल सिजन–५’ का विजेता करण परियारलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सारङ्गी उपहार दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले बधाई दिँदै करणलाई सारङ्गी उपहार दिएका हुन् । नेपाल आइडल (सिजन ५) का विजेता करण परियार र उप–विजेताहरूलाई बधाई तथा शुभकामना दिन एमालेले आइतबार च्यासलमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विजेता परियारसहित उपविजेताहरू फस्ट रनरअप सलोमी गुरूङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा र थर्ड रनरअप मोहित भुजेल पनि सहभागी थिए ।
उनले समय पाएका बेला करणको गायन प्रतिभा सुनेको बताए । ओलीले फेसबुकमा लेखेका छन्, ‘समय पाएका बेला मैले करण परियारको सुमधुर गायन सुनेको थिएँ । नेपाल आइडल सिजन–५ को विजेता घोषित हुँदा प्रतिभाको कदर भएको महसुस गरेको थिएँ । आज भेट भयो, खुसी लाग्यो । फेरि पनि बधाई करण ।’