काठमाडौंका सुनिल खड्का कमेडी च्याम्पियन सिजन–३ को विजेता बनेका छन् । आज ९शनिबार० भएको ग्रान्ड फिनालेमा उनी विजेता भएका हुन् । सुयशा खनाल सेकेण्ड रनर–अप बनेकी छन् ।
काठमाडौंका २६ वर्षीय सुनिल खड्का, नवलपरासीकी १२ वर्षीया सुयशा खनाल र सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले टप तीनमा पुगेका थिए । उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाएका छन् । फस्ट र सेकेण्ड रनरअपले भने एक/एक वटा स्कुटर पुरस्कार पाएका छन् ।
यसअघि पहिलो सिजनमा हिमेश पन्त र दोस्रो सिजनमा भरतमणि पौडेल विजेता बनेका थिए । यस कार्यक्रमको निर्णायकका रूपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् । त्यस्तै, विशाल भण्डारीले निर्देशन गरेको यो सोको होस्ट रिमा विश्वकर्मा र मेक्सन गौडेलले गरेका थिए ।
‘कमेडी च्याम्पियन सिजन ३’ मा २ हजारले डिजिटल अडिसन दिएका थिए । जसमध्ये प्रि–जजिङ हुँदै १ सय ३२ जनालाई फिजिकल अडिसनको लागि छानिएको थियो । जसबाट टप ३०, १६ र १० हुँदै शोको फिनालेमा तीनजना प्रतिस्पर्धी पुगेका थिए ।