Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

चलचित्र मोदीबेनीका दुई पोस्टर सार्वजनिक

आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र मोदीबेनीका दुई पोस्टर सार्वजनिक गरिएको छ। यस चलचित्रका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको हो।

पोस्टरमा यसै चलचित्रबाट डेब्यु गरेका अभिनेता श्रेष्ठलाई एङ्ग्री योङ म्यानको रूपमा देखाइएको छ। उनी कुनै पहाडी इलाकामा हातमा बाँसको मोटो लट्ठी समाएर रिसाहा भावमा उभिएका छन्। उनको गालामा चिथोरिएको दाग छ, हातमा टाँका लगाइएको अवस्थामा छन् भने नाडीमा खतराको सङ्केत भएको कालो ब्रासलेट लगाएका छन् । पोस्टरको विश्लेषण गर्दा उनलाई एक्सन अवतारमा मोदीबेनीमा देख्न पाइनेछ। अमरले ओजस थिएटरमा अभिनय प्रशिक्षण लिई केही नाटकमा अभिनय गरेका थिए।

अभिनेत्री सिवाकोटीलाई पोस्टरमा रहस्यमय अवतारमा देखाइएको छ। अभिनेत्रले थोरै बुट्टा भएको सेतो कपडामा लगाएर कुनै पहाडी इलाकामा उभिएकी छन्। उनको पछाडि उकालो बाटो छ। यस चलचित्रमा वर्षा अमरको जोडीको रूपमा अभिनय गरेको भएता पनि पोस्टर भने अलग अलग सार्वजनिक गरिएको छ। यसबाट कथामा केही रहस्य लुकेको अनुमान लगाउन सकिन्छ।

मोदीबेनीका निर्देशक शङ्कर कोइरालाले चलचित्रको कथामा आधारित रहेर पोस्टर तयार पारिएको बताए। उनले यस चलचित्रमा अभिनेता अमर एक्सन प्रधान भूमिकामा रहेको खुलासा गरे। पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्रको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने उनले बताए। चलचित्रमा बदलाको कथा रहेको बताउँदै निर्देशकले कथाको अन्य क्लु दिन भने अस्वीकार गरे।

सार्वजनिक पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्। उनले आफूले पोस्टरहरूमा बदला र पीडालाई देखाउनु पर्ने रहेकोमा सोही अनुरूप डिजाइन गरेको बताए। अभिनेता श्रेष्ठको पोस्टरबारे व्याख्या गर्दै उनले कुनै मिसनमा रहेर आक्रामक लडाइँ भावनामा रहेको पात्र रहेको बताए। अभिनेत्री सिवाकोटीलाई राखिएको पोस्टरबारे भीमसेन भन्छन्, रहस्यमय र संन्दिग्ध एवम् भित्री पीडा लुकाइरहेकी महिला जसले बदलाको भावना राखेकी छन्।