Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

सानेपामा नेपाल फेसन फेस्टिभल सुरु

सानेपाको हेरिटेज गार्डेनमा आजदेखि नेपाल फेसन फेस्टिभल सुरु भएको छ । फेस्टिभलको उद्घाटन गर्दै ललितपुर महानगरपलिका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले फेसनलाई आत्मविश्वासको स्तर माथि पुर्याउने शैलीका रुपमा आफूले बुझेको बताइन् ।

फेसन नेटवर्क नेपालको आयोजनामा जेठ १३ गते (आइतबार) सम्म सञ्चालन हुने फेस्टिभललाई ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण’ भन्ने नाराका साथ आयोजना गरिएको हो ।

Nepal Fashion Festiva-2.jpg

‘मलाई फेसन गर्न नआउने भए पनि मैंले फेसन भनेको आफ्नै आत्मविश्वासको स्तर माथि पुर्याउनै शैली हो भन्ने बुझेकी छु । यो फेस्टिभवलले जीवन शैलीका सबै पक्षहरु समेटेको देख्न पाउँदा खुशी लागेको छ । म यो फेस्टिभलको सफलताको शुभकामना चाहन्छु,’ उपप्रमुख शाक्यले भनिन् ।

यस्तै,उपप्रमुख शाक्यले मेलामा प्रदर्शकको रुपमा सहभागी ८० भन्दा बढी उद्यमी–व्यवसायीहरुलाई सफलताको शुभकामना दिँदै नेपालमै बसेर केही गर्छु भनेर देखाएको  हिम्मतको प्रशंसा गरिन ।  आयोजक फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारले लामो समयको कठोर परिश्रमपछि नेपालमै पहिलो पटक एउटा भिन्नै प्रकारको फेस्टिभल अर्थात ‘नेपाल फेसन फेस्टिभल’ आयोजना गर्न सफल भएको बताए ।

Nepal Fashion Festival_5.jpg

 निर्देशक ताम्राकारले नेपालको फेसन जगतलाई फेसन उद्योगमा परिवर्तन गर्न, यो क्षेत्रमा आवद्ध भएका सम्पूर्ण व्यक्ति, संघ, संस्था, उद्यमीहरुलाई एकै ठाउँमा भेला पार्न, यो क्षेत्रमा भएका उपलब्धिहरुको बारेमा जानकारी गराउन तथा सरकारलाई नेपाल फेसन काउन्सिलको स्थापना गराउन माग गर्ने उदेश्यले यो महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

ताम्राकारले नेपाली फेसन, सौन्दर्य, जीवनशैली तथा कलाको क्षेत्रको उत्सवको रुपमा तीन दिनसम्म फेस्टिभलको रुपमा मनाउन लागेको भन्दै थपे, ‘नेपालको फेसन उद्योगका सबै सरोकारवालाहरूलाई सशक्तिकरण गर्ने, विकास गर्ने र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्ने उदेश्यले यो महोत्सव आयोजन गरिएको हो ।’

Nepal Fashion Festival.jpg

आयोजक संस्थाका अर्का संस्थापक निर्देशक शेखरराज कसजुले यो फेस्टिभलमार्फत रचनात्मकता, नवप्रवर्तन तथा प्रेरणाको जीवन्त प्रदर्शन गर्ने थलो बनाउने उद्देश्य लिएको बताए । संस्थापक कसजुले फेस्टिभलमा झण्डै ८० वटा स्टलमार्फत तीन दिनसम्म समाजका विभिन्न क्षेत्रलाई एउटै छानामुनि समेट्ने प्रयास गरेका उल्लेख गरे ।

उदघाटन समारोहमा सिक्वेन्सको रुपमा बिआईए फाउण्डेसनका आठ जना व्यक्तिहरुले मोडलको रुपमा ह्वीलचेयरमै र्याम्पमा उपस्थित भएर फेसन शो प्रस्तुत गरेका थिए । फेस्टिभलमा हरेक साँझ ६ बजेदेखि ७ बजेसम्म फेसन रनवे आयोजना गरिँदैछ ।