Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

कलाकारहरु कहिलेसम्म अधिकारविहीन भएर बस्ने?: शम्भुजित बासकोटा

वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले अब सबै कलाकारहरु एकजुट भएर आफ्नो हक हित र अधिकारको लागि अगाडि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय संगीतकर्मी संघको १८ औं साधारण सभा तथा छैठौं केन्द्रीय महाधिवेशनमा उनले कुनै मञ्चमा स्वागत कार्यक्रम गर्नको लागि कलाकार आवश्यक हुने तर कलाकारलाई महत्व नदिने भन्दै आफ्नो अधिकारको लागि एक भएर लाग्नुपर्ने बताए । उनले भने, ‘हामी कलाकारहरु आफ्नो हक हित र अधिकारका लागि एकजुट भएर अगाडि बढ्नुपर्छ ।

आफ्नो अधिकारको लागि अहिले पनि अगाडि बढिएन भने कहिले बढ्ने, कति दिन, वर्ष कुर्ने हो? सबैले आफ्नो अधिकार लिन सफल भए । हामी भने कुरेर बस्ने? कही भाषण गर्न वा मञ्चमा गएर स्वागत कार्यक्रम गर्नको लागि कलाकार चाहिन्छ तर कलाकारलाई केही दिइदैन ।’

देशको संस्कृती, परम्परा, गीत संगीतको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुयाउने कलाकार नै भएको भन्दै सरकारले कलाकारहरुलाई माया र सम्मान गर्नै पर्ने उनको भनाई छ । उनले नेपालीहरुको आफ्नै अस्तित्व र इतिहास रहेको भन्दै देश, भाषा र संस्कृतीलाई गीतको माध्यमबाट चिनाउनु आफ्नो कर्तव्यलाई कहिले विर्सिन नहुने बताए ।