Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

केकीको ‘बोक्सीको घर’ ले पायो युनिभर्सल सर्टिफिकेट

यही वैशाख १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’ ले केन्द्रीय चलचित्र जाँचपास समिति ९सेन्सर बोर्ड०बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएसँगै फिल्मलाई सबै उमेरका दर्शकले हेर्न पाउने छन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा केकी अधिकारी, श्वेच्छा राउत, सुष्मा निरौला, सविन बास्तोला, सुपला सापकोटा लगायतको अभिनय छ । फस्टलुकसँगै ट्रेलरले हाइप पाएको यो फिल्मको गीत ‘बुझिनँ मैले’ विशेषत नेपालमा प्रतिबन्धमा रहेको टिकटकमा भिपिएनमार्फत प्रयोग गर्ने धेरै दर्शकमाझ लोकप्रिय बनिसकेको छ ।

फिल्मकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको हो ।

केकी अधिकारी फिल्मसको प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता छन् ।

आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ माथि आधारित रहेर फिल्म निर्माण गरिएको हो । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ ।