उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा काठमाण्डौमा पहिलोपटक लिम्बू भाषाको चलचित्र ‘लोजिमा’ को विशेष शो सम्पन्न भएको छ । कमलपोखरीस्थित बिग मुभिजको २ वटा हलमा एकसाथ सम्पन्न सो विशेष प्रदर्शन समारोहमा आफ्ना भनाईहरु राख्दै उप सभामुख रानाले जीवन्त प्रेमकथा र लिम्बू भाषा-संस्कृतिको संरक्षण एवं प्रबर्धनका लागि चलचित्रले दिन खोजेको सन्देश आफूलाई निकै मन परेको कुरा बताइन् ।
सिक्किम र पूर्वी नेपालको विभिन्न स्थानमा गरी लगभग डेढ दर्जन विशेष शो सम्पन्न भई दर्शकहरुको सकारात्मक प्रतिक्रिया र अपार माया बटुलेको ‘लोजिमा’ ले राजधानीको विशेष प्रदर्शनमा पनि दर्शकको ऐतिहासिक साथ पाएको छ । दुबै हलको सिट क्षमताभन्दा बढी दर्शक उपस्थित भएपछि सयौं दर्शक चलचित्र नहेरी खिन्न हुँदै घर फर्किएका थिए ।
लिम्बू समुदायका धार्मिक, सांस्कृतिक र परम्परात्मक रीति रिवाजसँग सम्बन्धित कतिपय महत्वपूर्ण प्रचलनहरु समेत प्रस्तुत गरिएको यो चलचित्र वियोगान्त प्रेमकथामा आधारित रहेको छ िचलचित्रमा बाध्यात्मक परिस्थितिका कारण आफ्नी प्रेमिकालाई छाडेर अर्कै युवतीसँग विवाह गरेपछि भताभुङ्ग भएको नायकको जीवन र आफ्नो प्रेमीले अर्कै केटीसँग विवाह गरेपछि विक्षिप्त बनेकी नायिकाको कारुणिक अवस्थाको बेजोड प्रस्तुति रहेको छ ।
अधिकांश दर्शकले मलिन अनुहार लिएर कि त आँसु पुछ्दै हलबाट बाहिरिंदै गर्दा ८-९ वर्षका बालबालिका घुँक्क घुँक्क गर्दै ‘नायिकालाई बचाउन किन सकिएन?’ भन्ने आशयका प्रश्नहरु सोधेर निर्देशक सागर सुब्बालाई अक्क न बक्क पारिरहेका थिए । जुन दृश्य आफैंमा अकल्पनीय, अनपेक्षित र आश्चर्यजनक थियो । केहीवर्ष अघि ‘सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक अवार्ड’ पाउन सफल शेर्पा संस्कृतिमा आधारित चलचित्र ‘कुसुम’ को निर्देशन गरेर छुट्टै पहिचान स्थापित गरेका सागर सुब्बा ‘लोजिमा’ को प्रदर्शनपछि सिने वृत्तमा पुनः चर्चामा आएका छन् । उनको निर्देशकीय क्षमताको चौतर्फी प्रशंसा भईरहेको छ।
पाथीभरा च्यानलको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विशेष प्राविधिक सहयोगीको रुपमा निर्देशक वसन्त अधिकारीले साथ दिएका छन् । चलचित्रमा सञ्जय अधिकारीको सम्पादन र अशोक राईको पार्श्व सङ्गीत रहेको छ भने साउण्ड डिजाइन मानषी किरणले र पोष्टर तथा स्टिकर डिजाइन आइडियल डिजाइनर्सका निर्देशक सुन्दर श्रेष्ठले गरेका छन् । सागर सुब्बाको कथारनिर्देशन रहेको यस चलचित्रको पटकथा संवाद सागर केरुङ्ले लेखेका हुन् ।
चलचित्रमा बिमला खजुम लिम्बूको अलावा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पहिम, नुनाम केरुङ, हस्त लिबाङ, सहाराहाङमा पन्धाक लिम्बू, सेरिना राई, बिनी सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवी लिम्बू, ज्ञानु खम्दाक, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यसैगरी चलचित्रमा निर्माता आशाहाङ आङ्बो र कार्यकारी निर्माता पम्फावती राई रहेका छन् भने मुख्य सहायक निर्देशकमा दीपक अधिकारी, छायाकार रविन्द्र बराल र मेकअप आर्टिष्ट नरेश खरेल रहेका छन् । अशोक लोहरुङ राईको म्युजिक एरेन्ज रहेको यस चलचित्रमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । चलचित्रको पोष्ट प्रोडक्सन भिजन नेपाल फिल्मसले गरेको हो भने र स्वराङ्कन एम. के.प्रोडक्सनमा भएको हो ।
चलचित्र मनोरन्जनको लागि मात्र नभएर समाज रुपान्तरणका लागि चेतना र सन्देशको संवाहक पनि हुनु पर्दछ भन्ने कुरामा आफू सचेत रहेको निर्देशक सागर सुब्बाले बताएका बताउनु भएको छ ।