Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

भजन शिरोमणि भक्तराज आचार्यलाई मरणोपरान्त ‘राष्ट्र गायक’को उपाधि

भजन शिरोमणि सुरसम्राट् भक्तराज आचार्यलाई मरणोपरान्त ‘राष्ट्र गायक’को उपाधि प्रदान गरिएको छ ।सिस्नुपानी नेपालद्वारा सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित ‘राष्ट्र’ शीर्षकको कार्यक्रममा आचार्यलाई यो उपाधिद्वारा विभूषित गरिएको हो ।

कार्यक्रममा भजन शिरोमणि आचार्यप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्दै ९१ जना संगीतकर्मीहरुले आचार्यकै कालजयी गीत ‘जहाँ छन् बुद्धका आँखा‘’ प्रस्तुत गरेका थिए । आचार्यले यो संसारबाट विदा लिएको ४३औं दिनका दिन आयोजित उक्त कार्यक्रममा उनलाई ‘राष्ट्र गायक’को उपाधि प्रदान गरिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व राष्ट्रपति, पूर्वप्रधानसहित नेपालका अधिकांश कार्यकारी व्यक्तिहरुको उपस्थितिमा भजन शिरोमणिलाई ‘राष्ट्र गायक’को उपाधि प्रदान गरिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्प कमल दाहालसहित पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरूसमेतको उपस्थिति रहेको प्रेक्षालयमा अन्य विशिष्ट प्रस्तुतिहरूका साथै ‘राष्ट्र गायकु भक्तराज आचार्यद्वारा संगीतबद्ध, बमबहादुर थापा जितालीद्वारा रचित अमर गीत ‘जहाँ छन् बुद्धका आँखा‘’ लाई प्रसिद्ध सङ्गीतज्ञ अमूल कार्की ढलीले विशिष्ट संयोजनका साथ नयाँ भर्सनमा प्रस्तुत गरेका थिए ।

भक्तराज आचार्यका सुपुत्रद्वय सत्य–स्वरूपका साथमा सुप्रसिद्ध गायकहरू दीप श्रेष्ठ, मीरा राणा, दीपक खरेल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मुरलीधर, कुन्ती मोक्तान, सङ्गीता प्रधान, लोचन भट्टराई, आनी छोइङ डोल्मा, देविका बन्दना, धीरेन्द्र प्रेमर्षीलगायत ९१ जनाको विशिष्ट साङ्गीतिक समूहले उक्त गीतलाई सामुहिक रुपमा प्रस्तुत गरेको थियो ।

आचार्यलाई राष्ट्र गायको उपाधिले सम्मान गरेपछि खुसी हुँदै उनका सुपुत्रद्वय सत्यस्वरूपले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हार्दिक आभार सिस्नुपानी नेपाल, बुबाको यो ऐतिहासिक श्रद्धाञ्जली र ‘राष्ट्र गायकु उपाधिका लागि अनि मनैदेखि धन्यवाद सम्पूर्ण गायक र गायिका, सङ्गीत संयोजक अमुल दाइ तथा तमाम वाध्यवादकहरुमा ।’

सिस्नुपानी नेपालले हरेक वर्ष कुनै एउटा थीममा कार्यक्रम आयोजना गर्ने क्रममा यो वर्ष ‘राष्ट्र’को थीममा कार्यक्रम आयोजना गरेको थियो ।

वरिष्ठ गायक तथा भजन शिरोमणि भक्तराज आचार्यको गत फागुन १४ गते सोमबार ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो । ८१ वर्षको उमेरमा उनले यो संसारबाट विदा लिएका हुन् ।