Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

महाजात्रा हेरेपछि बाबुरामले भने- नेताले आत्मालोचना गर्न सक्नुपर्छ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फिल्म ‘महाजात्रा’ मनोरञ्जनसँगै सन्देशमुलक बनेको बताएका छन् । मङ्गलवार बेलुकी ठमेलको छायाँ सेन्टरमा रहेको क्युएफएक्समा बेलुकीको शो हेरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूलाई मन पर्ने शैलीको फिल्म बनाएको भन्दै निर्देशक प्रदीप भट्टराई, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्रीसहितको टिमलाई धन्यवाद दिए ।

‘यो फिल्म मनोरञ्जनसँगै सन्देशमूलक बनेको छ । देशमा सुशासन, सम्वृद्धिको कुरा गर्छौँ तर भ्रष्टचार र वेथितिले कसरी जरा गाडेको छ भन्ने तथ्यलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । नेताहरुले फिल्म हेरेर मम भन्न सक्नुपर्छ’, पूर्वप्रधानमन्त्री भट्टराईले भने,‘राजनीतिज्ञले सत्यलाई स्वीकार्नु पर्छ, तर परिबन्धमा नपरी सहजै कसैले गल्ती स्वीकार गर्दैनन् । म फिल्म हेरिरहदा केही स्थानमा भावुक भएँ, केही स्थानमा आँशु रोक्न सकिन । फिल्म हेरेर आनन्द आयो ।’

उनले यस्ता फिल्मले कलाकर्मीको गरिमा बढाउने भन्दै लेखन, निर्देशन, कलाकारिता, प्रस्तुतीकरण, विषय चयन लगायतका सम्पूर्ण पक्ष मन परेको बताए । ‘यो फिल्म आम दर्शकदेखि राजनीतिज्ञसम्मलाई सुहाउँदो बनेको छ । म यसलाई १० मा ८ नम्बर दिन्छु । ढुक्क भएर सपरिवार फिल्म हेर्न आउनुस्’, उनले भने ।

पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिक्रिया लिन हलमै पुगेका निर्देशक प्रदीप भट्टराईले आफूले फिल्ममार्फत दिएको संदेशलाई दर्शकसँगै राजनीतिज्ञले बुझेको पाउँदा खुसी लागेको बताए । ‘हामीले सक्किने कि सच्चिने? भन्ने प्रश्न फिल्ममा उठाएका छौँ । यसपटक मनोरञ्जनसँगै फिल्मकर्मीको दायित्व बहन गर्दै हामीले राष्ट्रिय विषयलाई उठान गरेका छौँ । देश र विदेशबाट आइरहेको प्रतिक्रियाले हामीलाई हौसला थपेको छ’, निर्देशक भट्टराईले भने ।

चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङ्घर्ष देखाईएको फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।