Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

‘महाजात्रा’लाई सेन्सरको ‘युनिभर्सल’ सर्टिफिकेट

यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट दिएको छ । नेपालसहित विश्वभर एकसाथ रिलिज हुन लागेको यो फिल्मले ‘यू’ सर्टिफिकेट पाएसँगै सबै वर्गका दर्शकलाई फिल्म हेर्न बाटो खुला भएका छ ।

फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले फिल्मले मनोरञ्जनसँगै सन्देश दिने भएकाले सबै वर्गका दर्शकलाई लक्षित गरेर फिल्म बनाइएको बताए । ‘हामीलाई आइडिया फुरेपछि त्यसलाई जात्राकै सेटअपमा तीन पात्रमार्फत व्यक्त गर्दा न्यायपूर्ण हुने लागेर यसमा राखिएको हो । यसमा राजनीति जोडिएको छ तर फिल्म त्यसमा केन्द्रीत भने छैन । यो जात्राकै सेटअपमा तयार भएको फिल्म हो’, निर्देशक भट्टराईले भने ।

अभिनेतासँगै कार्यकारी निर्माता रहेका रवीन्द्रसिंह बानियाँले फिल्म बजार र दर्शकलाई हेरेर तयार गरिएको बताए । अभिनेता हरिवंश आचार्यले आफू ‘जात्रा’ मार्फत नै गायकको रुपमा शृङ्खलामा जोडिएको बताउदै यसपटक भूमिकामै रहेको जानकारी दिए ।

फिल्ममा अभिनेता आचार्यले भ्रष्ट नेताको भूमिका निर्वाह गरेका छन् । नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक संदेश पनि प्रवाह गर्ने उनले बताए ।फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।