Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कर्णाली सरकारबाट बाहिरियो कांग्रेसः तीन मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस बाहिरिएको छ । कांग्रेसका कर्णाली सरकारमा सहभागी तीन मन्त्रीहरूले राजीनामा दिएका छन् । आज मंगलबार पत्रकार सम्मेलन गर्दै उनीहरुले मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएको जानकारी दिएका हुन् ।

नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सामाजिक विकासमन्त्री खड्गप्रसाद पोख्रेल, आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह र उद्योग वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बिसीले राजीनामा दिएका हुन् । उनीहरू मंगलबार सामुहिक रुपमा पत्रकार सम्मेलन गर्दै संघीय सरकारमा गठबन्धन परिवर्तन भएपछि पार्टीको निर्देशन अनुसार आफूहरू पदबाट राजीनामा दिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै आर्थिक मामिला तथा योजनामन्त्री सिंहले आफूहरुले सरकारमा रहँदा कर्णालीको समग्र विकास, निर्माण र जनपक्षीय काम गर्नका लागि उल्लेख्य काम गरेको बताए । उनले भने, ‘ती कामहरू विस्तारै नागरिकहरूले अनुभूति गर्नेछन् । तर, संघमा सत्ता समीकरणमा परिवर्तन भइसकेपछि प्रदेश सरकारमा बसिरहन उचित नहुने ठानेर राजीनामा दिएका छौ ।’

प्रदेश सरकारका सामाजिक विकासमन्त्रीको जिम्मेबारीमा रहेका खड्गप्रसाद पोख्रेलले भने पार्टी सरकारबाट बाहिरिए पनि प्रदेश सभामा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । उनले कर्णालीको विकास र कर्णालीवासीको हितमा हुने कामहरूमा आफूहरूले सरकारलाई साथ दिने बताए । यता आजै गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादीका सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका छन् ।

संघीय सरकारमा गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा केन्द्रको बाछिटाको असर देखिएको हो । नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले एमाले, रास्वपा र जसपालगायत दलसँग मिलेर नयाँ गठबन्धन बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार सबै मन्त्रीहरूलाई बर्खास्त गरेर चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । एमालेका पदम गिरी, माओवादकी हितबहादुर तामाङ र रास्वपाका डीपी अर्याल विना विभागीय मन्त्री बनेका छन् । मन्त्रालयको बाँडफाँटको टुंगो लगाउन मंगलबार दिउँसो २ बजे नयाँ गठबन्धनको बैठक डाकिएको छ ।