Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

राष्ट्रियसभामा निर्वाचित १९ सांसदद्वारा शपथ ग्रहण

राष्ट्रियसभामा निर्वाचित १९ सांसद्ले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गत माघ ११ गते सम्पन्न चुनावबाट निर्वाचित भएका १९ सांसदहरूले आज बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

निर्वाचित सांसद्हरूलाई नयाँ बानेश्वरस्थित संसद् भवनमा सङ्घीय संसद् सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मिला अर्यालले उनीहरूलाई शपथ ग्रहण गराएकी हुन् । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यलाई सभाको प्रतिक चिन्ह लगाइदिइन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे । उक्त समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थिति थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदको पदावधि आइतबार राति १२ बजे सकिएको थियो । सोही पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । पदावधि सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, नेकपमा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टी(जसपा), मनोनीत र स्वतन्त्र एक/एक जना छन् ।

यी रिक्त स्थानका लागि माघ ११ गते सातै प्रदेशमा निर्वाचन भएको थियो।कोशी प्रदेशको एक सिटबाहेक अरूतिर गठबन्धनका उम्मेदवार विजयी भएका थिए । कोशी प्रदेशबाट अन्यमा कांग्रेसका कृष्ण सिटौला र महिलामा एमालेकी रूक्मिणी कोइराला विजयी भएका छन् । मधेसबाट महिला कोटामा जसपाकी पूजा चौधरी र अन्यमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन् ।

बागमतीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीबाट श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल विजयी भएका हुन् । गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ विजयी भएका छन् ।

लुम्बिनीमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् । कर्णालीमा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भएका छन् भने सुदूरपश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त भट्ट तथा माओवादीका रेणु चन्दले चुनाव जितेका छन् ।

यसबाहेक मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने कोटा भने पूर्ति भइसकेको छैन ।