नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले सोमबार शपथ लिने भएका छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार एमालेबाट पदम गिरी, नेकपा (माओवादी केन्द्र)बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल (डीपी)ले शपथ लिने भएका हुन् । यी तीनजनाले आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथ लिने भएका छन् । स्रोतका अनुसार तीनैजना विनाविभागीय मन्त्री बन्न लागेका हुन् ।
अरू शीर्ष नेताहरू मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुनेछन्। गिरी पर्वत, तामाङ नुवाकोट-१ र अर्याल रास्वपाबाट सामानुपातिकमा निर्वाचित सांसद हुन्। यसअघि माओवादीबाट पुन र रास्वपाबाट सभापति रवि लामिछाने आजै सरकारमा सहभागी हुने तयारी भएको थियो।
तर मन्त्रालयको भागबण्डा र मन्त्रीहरूको वरियता नटुंगिएसम्म शीर्ष नेताहरू सहभागी नहुने निर्णय भएपछि यी तीन नेता सरकारमा सहभागी हुन लागेका हुन्।