Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

ललिता निवास प्रकरणमा विशेष अदालतको फैसलापछि गृहमन्त्रीले दिए न्यायाधीशलाई धन्यवाद

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणको फैसलापछि नेपाली जनतालाई बधाई र विशेष अदालतलाई धन्यवाद दिएका छन्। शुक्रबार सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री श्रेष्ठले ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले ऐतिहासिक फैसला गरेको बताएका छन्।

‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ,’ गृहमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जालसाजी, कीर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्‍यो। विशेष अदालत र न्यायाधीशहरूप्रति हार्दिक आभार र धन्यवाद।’

बिहीबार विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा व्यक्ति र संस्थाका नाममा रहेका जग्गा सरकारको हुने फैसला गरेको थियो। साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्व सचिव छविराज पन्तसहित ८० जनाभन्दा बढीलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला पनि गरेको छ।