सागर सुब्बाद्वारा निर्देशित लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘लोजिमा’ को प्रीमियर शो सम्पन्न भएको छ। गत आइतबार सिक्किमको सोमबारे दाराम्देन स्थित हलमा सो चलचित्रको प्रीमियर गरिएको थियो । जसका लागि नेपालबाट चलचित्रका निर्देशक सागर सुब्बा, नायिका बिमला लिम्बू र सञ्चारकर्मी, गायक निर्मल सुब्बा ‘आशिष’ समेत सिक्किम पुगेका थिए । सिक्किमकै धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलमा छायाङ्कन गरिएको सो चलचित्र हेर्नका लागि सोचे भन्दा बढी दर्शकको उपस्थिति भएपछि हाउस फुलका साथ दुई शो गर्नुपरेको कुरा निर्देशक सुब्बाले सिक्किमबाट जानकारी गराएका छन् ।

सांस्कृतिक एवं सामाजिक कथावस्तुमा निर्मित यस चलचित्रमा प्रेम-मिलनको रोमाञ्चकतादेखि वियोगको कारुणिकतासम्मका घटनाहरुलाई गहिरो ढङ्गबाट प्रस्तुत गरिएको जानकारी गराउँदै निर्देशक सुब्बा भन्छन्ः ‘चलचित्र हेरिरहँदा दर्शकहरु कहिले रोए, कहिले हाँसे। धेरै सकारात्मक प्रतिक्रियाहरु आएका छन् । सिक्किमका दर्शकलाई जस्तै अन्य ठाउँका दर्शकलाई पनि ‘लोजिमा’ मन पर्ने छ भन्ने कुरामा हामी अझ बढी ढुक्क भयौं । यो प्रीमियरबाट मेहेनत सफल भएको हामीलाई लागेको छ ।’

पाथीभरा च्यानलको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विशेष प्राविधिक सहयोगीको रुपमा निर्देशक वसन्त अधिकारीले साथ दिएका छन् । चलचित्रमा सञ्जय अधिकारीको सम्पादन र अशोक राईको पार्श्व सङ्गीत रहेको छ भने साउण्ड डिजाइन मानषी किरणले र पोष्टर तथा स्टिकर डिजाइन आइडियल डिजाइनर्सका निर्देशक सुन्दर श्रेष्ठले गरेका छन् ि‘सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक अवार्ड’ पाउन सफल शेर्पा भाषाको चलचित्र ‘कुसुम’ को निर्देशन गरेर चर्चामा आएका निर्देशक सागर सुब्बाको ख्यातिलाई यस चलचित्रले अझ उचाईमा लाने देखिएको छ । सागर सुब्बाको कथा,निर्देशन रहेको यस चलचित्रको पटकथा,संवाद सागर केरुङ्ले लेखेका हुन् ।

चलचित्रमा बिमला खजुम लिम्बूको अलावा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पहिम, नुनाम केरुङ, हस्त लिबाङ, सहाराहाङमा पन्धाक लिम्बू, सेरिना राई, बिनी सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवी लिम्बू, ज्ञानु खम्दाक, लगायतका कलाकारहरुको अभिनय रहेको छ।

यसैगरी चलचित्रमा निर्माता आशाहाङ आङ्बो र कार्यकारी निर्माता पम्फावती राई रहेका छन् भने मुख्य सहायक निर्देशकमा दीपक अधिकारी, छायाकार रविन्द्र बराल र मेकअप आर्टिष्ट नरेश खरेल रहेका छन् । अशोक लोहरुङ राईको म्युजिक एरेन्ज रहेको यस चलचित्रमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । चलचित्रको पोष्ट प्रोडक्सन भिजन नेपाल फिल्मसले गरेको हो भने र स्वराङ्कन एम. के. प्रोडक्सनमा भएको हो ।

सिक्किममा भव्य रुपमा सम्पन्न प्रीमियर पछि अब केही समय सिक्किमकै अन्य स्थानमा थप शोहरु गरिने र त्यसपछि काठमाडौं, झापा, पान्थर, ताप्लेजुङ र ईलाम लगायतका ठाउँमा प्रदर्शन गरिने कुरा समेत निर्देशक सुब्बाले बताएका छन् । निर्देशक सुब्बाले नेपालभित्रै ३० भन्दा बढी स्थानमा प्रदर्शन मिति पक्का भईसकेको र युके, कोरिया, हङकङ, मलेशिया लगायतका अन्तर्राष्ट्रिय मुलुकहरुमा समेत प्रदर्शन हुने जानकारी गराएका छन् । चलचित्र मनोरन्जनको लागि मात्र नभएर समाज रुपान्तरणका लागि चेतना र सन्देशको संवाहक पनि हुनु पर्दछ भन्ने कुरामा आफू सचेत रहेको निर्देशक सागर सुब्बाले बताएका छन् ।