Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

भवन निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण सम्पन्न नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या परेको छ ।

विसं २०७४ कात्तिक २७ गते २१ करोडको लागतमा दुई तले नवजात र मातृ शिशु विस्तारित भवन निर्माण गर्न काठमाडौँको रविना थेगिम जेभीले अस्पतालसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा ३० महिनामा निर्माण  सम्पन्न गरी भवन सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने उल्लेख छ । हालसम्म पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण भवन निर्माण अधुरै रहेको अस्पतालले जनाएको छ । निर्माण कम्पनीले हालसम्म ८० प्रतिशतमात्र काम पूरा गरेको अस्पतालका सूचना अधिकारी सौरभ कलौनीलले जानकारी दिए ।

धनगढीको मुख्य सडक विस्तारका क्रममा अस्पतालको ‘ओपीडी’ भवन भत्किएपछि भवनको अभाव भएको छ । अस्पतालले निर्माणाधीन अधुरो भवनका केही कोठाबाट ओपिडी सेवा सुरु गरेको छ । सो भवन निर्माणका लागि छैटौँ पटकसम्म म्याद थप गर्दा ठेकेदार कम्पनीले दई महिनाभित्रै भवन हस्तान्तरण गर्ने जनाएको थियो । तर सो म्याद गुज्रिदा पनि ठेकेदार कम्पनी सम्पर्कविहीन हुन खोजेको अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाहले जानकारी दिए । सहरी विकास सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले सम्झौताअनुसार २०७७ वैशाख २७ मा भवन निर्माणको काम सम्पन्न हुनुपर्ने जनाएको छ । सो भवन निर्माण सम्पन्न गर्न अझै १५–२० प्रतिशत काम बाँकी रहेको छ ।

भवन निर्माणका धेरै काम बाँकी हुँदा पनि निर्माण कम्पनीले काममा तदारुकता नदेखाएको उनको भनाइ छ । समयमै ठेकेदार कम्पनीले काम पूरा नगरे ठेक्का रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक जरिवाना गरिँदै आएको जनाइएको छ । भवन अभाव हुँदा अस्पतालले बाध्यतावश अधुरो भवनबाट ओपिडी सेवा सुरु गरेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा। शेरबहादुर कमरले जानकारी दिए । भवन हस्तान्तरण नहुँदै सेवा सुरु गर्नाका कारण दुवै भवनमा ठाउँ अभाव रहेको उनको भनाइ छ ।