Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

दक्षिण अफ्रिका पठाइदिने भन्दै ‘१७ लाख ठगी’ गरेको आरोपमा १८ वर्षीय युवक पक्राउ

दक्षिण अफ्रिका पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–४ का १८ वर्षीय अन्जेश गिरी छन् ।

गएको शुक्रबार दिउँसो उनलाई काठमाडौं महानगरपालिका–९, सिनामंगलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । अन्जेश काठमाडौं–७, गौरीघाटमा बस्दै आएका थिए । थप अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

उनले विजय खत्री समेत दुईजनालाई वैदेशिक रोजगारीका निम्ति दक्षिण अफ्रिका पठाइदिने बताएका थिए । त्यसका निम्ति प्रतिव्यक्ति आठ लाख ५० हजार रुपैयाँ लाग्ने उनको भनाइ थियो । दक्षिण अफ्रिकामा प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख २० हजार रुपैयाँ तलब हुने भन्दै उनले प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

‘पीडित’बाट पटक–पटक गरी १७ लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भई उनले ठगी गरेको एसपी रेग्मीले जानकारी गराएका छन् ।