बुधवार, मंसिर १३ गते २०८०

२०८०, मंसिर १३गते

29th Nov 2023

images
images

आईसीयू सञ्चालन नहुँदा मर्कामा बिरामी

आईसीयू सञ्चालन नहुँदा मर्कामा बिरामी

सोमवार, कार्तिक २० २०८०
सोमवार, कार्तिक २० २०८०
  • आईसीयू सञ्चालन नहुँदा मर्कामा बिरामी

    पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष (आईसीयू) सञ्चालन हुन नसक्दा बिरामी मर्कामा परेका छन् । कोभिड–१९ को महामारीका समयमा जिल्ला अस्पतालमा आईसीयू स्थापनाका लागि जनप्रतिनिधि, सरोकारवाला तथा स्वास्थ्यकर्मीले पहल थालेका थिए । दुई वर्षअघि निर्माण सम्पन्न भएको १० शय्याको उक्त आईसीयू कक्ष सञ्चालन हुन नसकेपछि जिल्ला अस्पतालमा उपचार हुने बिरामी तराईका अस्पताल जान बाध्य भएका हुन् । 

    सङ्घीय सरकारको सहयोगमा रू दुई करोडको लागतमा छ वटा भेन्टिलेटर र पाँच वटा डायलाइसिस मेसिन जडान गरिएको अस्पतालमा सूचना अधिकारी नारायण जोशीले जानकारी दिए । उनका अनुसार डायलाइसिस मेसिनको कात्तिक पहिलो साता परीक्षण गरी नियमित सञ्चालनको तयारी थालिएको छ । जनशक्ति र प्रयोग हुने औषधिको अभावमा आईसीयू तत्कालै सञ्चालन हुनसक्ने अवस्था नभएको जोशीको भनाइ थियो । आईसीयू सञ्चालन नहुँदा गत आवमा मात्रै एक सय ९२ जना बिरामीलाई जिल्ला अस्पतालबाट अन्यत्र पठाइएको उनले जानकारी दिए ।

    images
    images
    images

    “आईसीयू सञ्चालनका लागि एनेस्थेजियोलोजिस्ट चिकित्सक र अन्य सहायक स्वास्थ्यकर्मी आवश्यक छ । चिकित्सक र स्वास्थ्यकर्मीको पर्याप्त दरबन्दी जिल्ला अस्पतालमा छैन । यहाँ कार्यरत एनेस्थेजियोलोजिस्ट चिकित्सक केही महिनामै आफ्नो अवधि पूरा गरी सरुवा हुन लागेका छन्”, जोशीले भने । दुर्गम क्षेत्रमा सेवा दिने स्वास्थ्यकर्मीलाई उचित सेवा सुविधाका साथै काम गर्ने वातावरण नहुनु, सुरक्षामा चुनौती र भौगोलिक कठिनाइलगायत कारण चाहेअनुसार स्वास्थ्यकर्मी राख्न नसकिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बुद्धिबहादुर थापाले बताए । अस्पतालमा आईसीयू सेवा सञ्चालन गर्नसके गम्भीर प्रकृतिका बिरामीलाई ठूलो राहत पुग्ने र रेफर गर्नुपर्ने अवस्थामा कमी आउने उनको भनाइ थियो ।

    images

    उपकरण भएर पनि सञ्चालन गर्न नसक्दा दुर्गम क्षेत्रका सेवाग्राही मर्कामा परेका उनले बताए । पाँचथर अस्पतालले नियमितरुपमा ताप्लेजुङ र तेह्रथुमका बिरामीलाई समेत सेवा दिँदै आएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बेका अनुसार जिल्ला अस्पतालले थप ५० शय्याको स्वीकृति पाए पनि कार्यान्वयन हुन सकेको छैन ।

    उनले अहिले ६० शय्यासम्म बिरामी राखेर सेवा दिइरहेको जानकारी दिए । “आईसीयू लागि उपकरण तयार भए पनि तत्कालै सञ्चालन गर्न कठिन छ । माथिल्ला निकायमा स्वास्थ्यकर्मी पठाइदिन ताकेता गरिरहेका छौँ”, आङ्देम्बेले भने । जनशक्ति र प्रयोग हुने औषधिको उचित व्यवस्थापन हुन सके आईसीयू सञ्चालन गरिने उनले बताए ।

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार