Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रधान सेनापति ट्रफी २०८० सम्पन्न: उपत्यका पृतना प्रथम

काठमाडौं । आश्विन १८ गतेबाट सुरु भएको प्रधान सेनापति ट्रफि-२०८० खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल लगायतका खेलहरू समावेश गरिएको उक्त प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनी गरी जम्मा १४ वटा टिमहरू सहभागी थिए ।  उक्त प्रतियोगितामा समग्रमा उपत्यका पृतना प्रथम, नं.१६ बाहिनी द्वितीय र श्री मध्य पूर्वी पृतना तृतीय भएका छन् ।

यसैगरी गणतर्फ श्री जगदल गण प्रथम, श्री पुरानो गोरख गण द्वितीय र  श्री फष्ट राईफल गण तृतीय भएका छन् । जंगी अड्डाको खेल मैदानमा सम्पन्न समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले प्रतियोगितामा प्रथम उपत्यका पृतना तथा गणहरू मध्य प्रथम जगदल गणलाई ट्रफि, प्रमाण–पत्र तथा नगद पुरस्कार प्रदान गर्नुका साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरेका छन् ।

9.JPG

उनले हालै सम्पन्न १९ औँ एसियाली खेलकुद प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्ने नेपाली सेनाका एथलेटिक्स खेलाडी अमलदार दिपक अधिकारी तथा सुटिङ खेलाडी शिल्सा भण्डारी (रायमाझी) लाई प्रशंसा पत्र तथा नगद पुरस्कार पनि प्रदान गरेका छन् ।

त्यसैगरी सोही प्रतियोगितामा कांस्य पदक प्राप्त गर्ने कबड्डी टिममा सहभागी नेपाली सेनाका खेलाडीहरु चार जना मध्ये हुद्दा मेनुका राजवंशी, सिपाही गंगा घिमिरे र सिपाही ईशा राईलाई पदोन्नति गरी पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुको साथै प्रधान सेनापति प्रशंसा निशान प्रदान गरेका छन् ।

11.JPG

यसै गरी सोही खेलमा सहभागी सफाइकर्मी अनुजा कुलुङ्ग राईलाई प्रधान सेनापति प्रशंसा निशान तथा नगद रु ५० हजार प्रदान गरे । सोही क्रममा कर्तव्यपालनाको सिलसिलामा ज्यान गुमाएका फिफा सहायक रेफ्री स्वर्गीय विक्रम चौधरीको परिवारलाई नगद एकलाख तथा सम्मान पत्र प्रदान गरिएको छ ।

नेपाली सेनामा सेवारत रहेकै बखत दिवंगत भएका स्वर्गीय हुद्दा चौधरीका छोरा तथा छोरीलाई श्री कल्याणकारी निर्देशनालयबाट सञ्चालित महाविद्यालयमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने व्यवस्था समेत गरिएको छ । 

10.JPG