Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

सुदूरपश्चिममा डेङ्गु: तीनजनाको मृत्यु, आठ सय सङ्क्रमित

बितेको आठ महिनामा सुदूरपश्चिममा आठ सय ७७ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी सङ्क्रमण कैलाली, कञ्चनपुर र पहाडी जिल्ला दार्चुलामा देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत हेमराज जोशीले डेङ्गु सङ्क्रमणबाट कञ्चनपुरमा दुई र दार्चुलामा एक गरी तीन जनाको मृत्यु भएको जानकारी दिए । सुदूरपश्चिम प्रदेश सरकारले सङ्क्रमित बिरामीको व्यवस्थापनमा सहजीकरण गर्ने, जिल्लामा रहेको स्वास्थ्य कार्यालयले सोसम्बन्धी सचेतना र कर्मचारीको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पालिकाले लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिरहेको उनको भनाइ छ । गत माघदेखि हालसम्म कैलालीमा तीन सय ७६, दार्चुलामा एक सय ९६, कञ्चनपुरमा एक सय ५९, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १९, बझाङमा १३ र बैतडीमा नौ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गर्मी हुने क्षेत्रमा देखिँदै आएको डेङ्गुको सङ्क्रमण यसपटक सुदूरपश्चिमका पहाडी जिल्लामा समेत देखिएको छ । सङ्क्रमितमा ज्वरो आउने, आँखा दुख्ने, हातखुट्टा र ढाड दुख्नेलगायतका लक्षण देखिने गरेको छ ।