Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

आईसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन

ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आईसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् । प्राविधिक जनशक्तिको अभावमा हालसम्म आईसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो । आईसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो । कोभिड महामारीका बेला करोडौँ खर्चिएर उपकरण व्यवस्थापन गरिएको थियो । फुङ्लिङ नगरपालिका–५ का विक्रम लिम्बूले जिल्लामै आईसीयूका लागि उपकरण उपलब्ध भएर पनि सञ्चालनमा नआउँदा सेवाग्राहीलाई समस्या परेको बताए । विसं २०७८ कात्तिकमा अस्पतालमा ७१ लाख ५० हजारको लागतमा अक्सिजन प्लान्ट जडान र पाँच करोडमा सघन उपचारकक्ष शय्या स्थापना भएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ । जिल्ला अस्पतालमा आईसीयू सञ्चालनमा रहेको भए महामारी मात्र नभई अन्य सिकिस्त तथा गम्भीर प्रकृतिका बिरामीका लागि ठूलो राहत पुग्ने उनको भनाइ छ । उनले आईसीयू उपकरण भएर पनि सञ्चालनमा नआएका कारण सुविधाबाट बञ्चित हुनु भनेको दुर्गम हिमाली जिल्लाका सेवाग्राहीका लागि दुःखद अवस्था भएको बताए । प्राविधिक जनशक्ति अभावकै कारण आईसीयू सञ्चालनमा नआएको जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताइन् । उनका अनुसार बालबालिकाका लागि मात्र प्रयोग गर्न मिल्ने उपकरण भएको र उपलब्ध उपकरण प्राविधिक जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको हो । पछिल्लो समय जिल्ला अस्पतालमा आवश्यकता परे उपकरण सञ्चालन गर्न सक्ने दक्ष चिकित्सक उपलब्ध भए पनि उपकरण चलाउन अर्थात् आईसीयू सञ्चालनमा ल्याउनका लागि प्राविधिक जनशक्तिकै आवश्यक हुने उनको भनाइ छ । यस्तै, आईसीयू सञ्चालनका लागि प्रदेश सरकारसँग कुरा राख्दा प्राविधिक जनशक्ति उपलब्ध गराउन नसक्ने जवाफ पाएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले बताए । प्रदेश सरकारले जनशक्ति उपलब्ध गराउन नसक्ने भएपछि समितिमा निर्णय गरेर सङ्घीय सरकारसँग माग गर्ने योजना बनाउँदै गरेको उनले जानकारी दिए ।