Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

पाठेघरको मुखको क्यान्सरविरुद्ध आजबाट खोप लगाइने

पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप आज (बुधबार) बाट लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोप अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ । मन्त्री बस्नेतले अभियान सुरु गरेलगत्तै अस्पतालको ओपीडी भवनको तेस्रो तलाबाट खोप लगाउन सुरु गरिने अस्पताल निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार यो खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका (जन्मिएका) किशोरीले मात्र लगाउन पाउने छन् । उनले खोप लगाउनका लागि उमेर खुल्ने प्रमाण लिएर आउनु पर्ने जानकारी दिए । एचपीभी खोप अभियान पहिलो चरणमा देशका विभिन्न ७ अस्पतालबाट लगाउन पाइने परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार प्रसूति गृहसहित कोशी प्रदेशमा कोशी अस्पताल, मधेस प्रदेशमा नारायण अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाइने छ । पहिलो चरण भएकाले यो खोप १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लगाउन लागिएको हो । सामान्यतया यो खोप ९ देखि १४ वर्ष उमेरका किशोरीलाई लगाइन्छ। सरकारले किशोरीहरुलाई लगाउन २० हजार भाइल खोप नेपाल भित्र्याएको छ । हाल उपलब्ध भएको एचपीभी खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने हुन्छ । यो खोप यौन सम्पर्क हुने उमेरभन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ । पहिलो मात्रा खोप लगाउँदा उमेर खुल्ने आधिकारिक प्रमाण, दोस्रो मात्राको हकमा पहिलो मात्रा लगाएको खोप कार्ड आवश्यक पर्ने छ । हाल सरकारले ल्याएको खोप विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोप हो । उक्त खोप चिनियाँ कम्पनी सियामन इनोभ्याक्स बायोटेकले उत्पादन गरेको सिकोलिन नामको खोप हो । यो खोप नन्दकेम ड्रग डिस्ट्रीव्युटर्सले नेपालमा भित्र्याएको हो । सरकारले निकट भविष्यमा १० देखि १४ वर्ष सम्मका सबै किशोरीलाई खोप लगाउने गरी राष्ट्रियस्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराउने तयारी गरेको छ ।