विश्व फुटबलका दुई चर्चित खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको सम्मानमा विलासी सामग्री निर्माता कम्पनी क्याभियारले विशेष संस्करणका स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले सामसुङ ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा र एप्पल आइफोन १७ प्रोमा आधारित मेसी र रोनाल्डो संस्करणका फोन ल्याएको हो । यी फोनमा २४ क्यारेट सुनको प्रयोग, हातबाट तयार गरिएको विशेष डिजाइन तथा सङ्कलनयोग्य सामग्री समावेश गरिएको छ ।
क्याभियारले दुवै संस्करणका फोन विश्वभर १९-१९ थान मात्रै उत्पादन गरेको जनाएको छ । सीमित सङ्ख्यामा उत्पादन गरिएकाले यी फोनलाई विशेष सङ्कलन सामग्रीका रूपमा प्रस्तुत गरिएको छ ।क्याभियारको मेसी संस्करण आगामी सामसुङ ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रामा आधारित छ । यसको पछाडिको भागमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीको तस्बिर, उनको चर्चित १० नम्बरको जर्सी र अर्जेन्टिनासँग सम्बन्धित प्रतीकहरू आकर्षक रूपमा समावेश गरिएको छ ।
फोनको डिजाइन मेसीको खेल शैलीबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । हल्का नीलो र सेतो रङलाई २४ क्यारेट सुनको आवरणले सजाइएको छ। उत्कृष्ट सजावट र सुनको प्रयोगले यसलाई सामान्य फोनभन्दा फरक सङ्कलनयोग्य वस्तु बनाएको छ । रोनाल्डो संस्करण एप्पल आइफोन १७ प्रोमा आधारित छ । यसको पछाडिको भागमा क्रिस्टियानो रोनाल्डोको तस्बिर, उनको चर्चित ७ नम्बरको जर्सी र पोर्चुगलका राष्ट्रिय प्रतीकहरू समावेश गरिएको छ ।
यस फोनमा पनि २४ क्यारेट सुनको प्रयोग गरिएको छ भने विशेष ज्यामितीय डिजाइन दिइएको छ । सुनको सजावट र आकर्षक बनावटका कारण यो सामान्य आइफोनभन्दा निकै फरक देखिन्छ ।क्याभियारले यी फोनको विशेषता कायम राख्न सीमित उत्पादन गरेको जनाएको छ । विश्वभर मेसी संस्करणका १९ जना र रोनाल्डो संस्करणका १९ जना ग्राहक मात्रै यसको मालिक बन्न सक्नेछन् ।
फोन खरिद गर्ने ग्राहकलाई कम्पनीले विशेष सङ्कलन बाकस पनि उपलब्ध गराउनेछ । उक्त बाकसभित्र फोनसँगै सुनले सजाइएको चाबी र विशेष सम्झनायोग्य सिक्का समेत प्रदान गरिने बताइएको छ । सुन र विशेष हस्तकलाको प्रयोगका कारण यी फोनको मूल्य निकै महँगो राखिएको छ । आइफोन १७ प्रो रोनाल्डो संस्करणको प्रारम्भिक मूल्य ११ हजार ४१० अमेरिकी डलर रहेको छ । यसको उच्च स्टोरेज क्षमताको संस्करणको मूल्य करिब १२ लाख ६३ हजार रुपैयाँसम्म पुग्ने बताइएको छ । सामसुङ ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रामा आधारित मेसी संस्करणको मूल्य १३ हजार १३० डलर रहेको छ ।