Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

अर्जेन्टिनाले किन रोज्यो १९८६ कै भाग्यमानी जर्सी ?

फिफा विश्वकप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनल आजराती अर्जेन्टिना र इङ्ग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यस खेल अघि अर्जेन्टिनाले इङ्ग्ल्यान्डविरुद्ध मनोवैज्ञानिक दबाब सिर्जना गर्ने रणनीति अपनाएको छ ।

तीन पटकको विश्वविजेता अर्जेन्टिनाले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग सेमिफाइनलमा आफ्नो गाढा निलो रङको वैकल्पिक पोसाक लगाउन अनुमति मागेको थियो । फिफाले उक्त अनुरोध स्वीकृत गरिसकेको छ।

अर्जेन्टिनाले यो निर्णय केवल इङ्ग्ल्यान्डको परम्परागत सेतो पोसाकसँग रङ मिलाउनका लागि होइन, इतिहासको एक अविस्मरणीय क्षण दोहोरिने विश्वासका साथ गरेको हो । कप्तान लियोनेल मेसीले आफ्नो विश्वकप यात्रामा पहिलो पटक इङ्ग्ल्यान्डविरुद्ध खेल्न लागेकाले टोलीले मानसिक रूपमा पनि अग्रता लिने प्रयास गरिरहेको बताइएको छ ।

सन् १९८६ को विश्वकप क्वार्टरफाइनलमा अर्जेन्टिना र इङ्ग्ल्यान्डबीच भएको ऐतिहासिक खेलमा डिएगो म्याराडोनाले चर्चित ‘भगवानको हात’ गोल र ‘शताब्दीको उत्कृष्ट गोल’ गर्दै अर्जेन्टिनालाई २-१ को जित दिलाएका थिए। मेक्सिकोमा भएको त्यस खेलमा अर्जेन्टिनाले गाढा निलो रङको यही वैकल्पिक पोसाक लगाएको थियो ।

अर्जेन्टिना अहिले त्यही पोसाक पुनः लगाएर त्यस ऐतिहासिक सफलताको स्मरण गर्दै टोलीमा सकारात्मक ऊर्जा र आत्मविश्वास बढ्ने अपेक्षामा छ ।

सन् १९८६ पछि विश्वकपमा अर्जेन्टिना र इङ्ग्ल्यान्ड दुई पटक आमनेसामने भएका छन् । सन् १९९८ को विश्वकपमा निर्धारित समय २-२ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले ४-३ को जित निकालेको थियो। त्यस खेलमा पनि अर्जेन्टिनाले गाढा निलो वैकल्पिक पोसाक नै लगाएको थियो ।

त्यसपछि सन् २००२ को विश्वकपमा डेभिड बेकह्यामको पेनाल्टी गोलको मद्दतमा इङ्ग्ल्यान्डले अर्जेन्टिनालाई १-० ले पराजित गरेको थियो । उक्त खेलमा अर्जेन्टिनाले सेतो र आकाशे निलो धर्का भएको घरेलु पोसाक लगाएको थियो ।

फिफाले सेमिफाइनलका लागि दुवै टोलीको पोसाक पनि पुष्टि गरेको छ । एटलान्टामा हुने खेलमा इङ्ग्ल्यान्ड परम्परागत सेतो घरेलु पोसाकमा उत्रिनेछ भने अर्जेन्टिनाले गाढा निलो र कालो रङको वैकल्पिक पोसाक लगाउनेछ ।

विश्वकप २०२६ मा अर्जेन्टिनाले हालसम्म खेलेका ६ मध्ये ५ खेल घरेलु पोसाकमा खेलेको छ र सबैमा जित निकालेको छ । टोलीले प्रतियोगितामा एकपटक मात्र वैकल्पिक पोसाक प्रयोग गरेको थियो, जहाँ डलासमा जोर्डनलाई ३-१ ले पराजित गरेको थियो । अब अर्जेन्टिना त्यही पोसाकमा इङ्ग्ल्यान्डविरुद्ध पनि इतिहास दोहोर्याउने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ ।