Jul 05 2026

Jul 05 2026 | आइतवार, आषाढ २१ गते २०८३

धनीहरू किन जन्माइरहेका छन् धेरै सन्तान ? के हो ‘किडम्याक्सिङ’ ?

विकसित देशहरूमा जन्मदर लगातार घटिरहेका बेला अति धनाढ्य व्यक्तिहरूले आधुनिक प्रविधि र अपार आर्थिक स्रोतको प्रयोग गरेर धेरैभन्दा धेरै सन्तान जन्माउने प्रवृत्ति तीव्र बन्दै गएको छ । यही प्रवृत्तिलाई अहिले ‘किडम्याक्सिङ’ नाम दिइएको छ।

यस अवधारणाले धेरै सन्तान जन्माएर आफ्नो प्रभाव, वंश, सम्पत्ति र भविष्यमा नियन्त्रण कायम राख्ने सोचलाई जनाउँछ। एकातिर सामान्य परिवारहरू एउटा सन्तान हुर्काउनसमेत आर्थिक कठिनाइ भोगिरहेका छन् भने अर्कोतर्फ केही अर्बपतिहरू करोडौँ रुपैयाँ खर्च गरेर सरोगेसी, शुक्राणु तथा अण्डाणु दानजस्ता प्रविधिको सहायताले सन्तान जन्माइरहेका छन् ।

विश्वका चर्चित धनाढ्यमध्ये एलन मस्क यस विषयमा सबैभन्दा धेरै चर्चामा छन्। उनका १४ सन्तान रहेको बताइन्छ। त्यस्तै, टेलिग्रामका संस्थापक पावेल डुरोभले आफ्नो शुक्राणु दानबाट १०० भन्दा बढी सन्तान जन्मिएको दाबी गरेका छन्।

अमेरिकी बिमा व्यवसायी ग्रेग लिन्डबर्गले ‘बेबी प्रोजेक्ट’ सञ्चालन गरेका थिए। उक्त परियोजनाका क्रममा केही मोडलहरूलाई झुक्याएर अण्डाणु दान गराएको आरोपसमेत लागेको छ। उनका १२ सन्तान रहेको सार्वजनिक भइसकेको छ। यौन अपराधी जेफ्री एपस्टिनले पनि एक समय आफ्नो वंश धेरैभन्दा धेरै फैलाउने चाहना व्यक्त गरेको विवरण सार्वजनिक भएको थियो ।

क्यालिफोर्निया विश्वविद्यालयकी अनुसन्धानकर्ता आर्ली रसेलका अनुसार अर्बपतिहरूले एकै समयमा धेरै सरोगेट आमाको प्रयोग गरेर समूहगत रूपमा सन्तान जन्माउन सक्छन्। उनका अनुसार अहिले इन भिट्रो निषेचन प्रविधि केवल सन्तान प्राप्तिको माध्यम मात्र नभई लिङ्ग छनोट, वंशाणुगत रोगको जोखिम घटाउने तथा निश्चित आनुवंशिक विशेषता छनोट गर्ने माध्यमका रूपमा पनि प्रयोग हुन थालेको छ। यस्तो महँगो प्रविधिको पहुँच मुख्यतः अत्यन्त धनी वर्गसँग मात्र छ।

मनोवैज्ञानिकहरूका अनुसार विगतमा राजाहरूले आफ्नो वंशलाई शक्ति र शासनको आधार मान्थे भने अहिले केही प्रविधि क्षेत्रका धनाढ्यहरूले आफ्नै जैविक वंशलाई भविष्यको सम्पत्तिका रूपमा हेर्न थालेका छन्। फरक यति मात्र हो कि पहिले शक्ति विस्तारका लागि हतियार प्रयोग हुन्थ्यो भने अहिले त्यसको स्थान प्रविधिले लिएको छ।

अमेरिकी लेखिका अन्ना लोई सुसम्यानका अनुसार यस्तो प्रवृत्तिको असर विशेषगरी महिला र बालबालिकामाथि पर्न थालेको छ। सरोगेट आमाको शोषण, सहमतिको उल्लङ्घन तथा जन्मिएका बालबालिकाको उचित हेरचाहबारे गम्भीर प्रश्न उठिरहेका छन्। केही घटनामा बालबालिका अन्य व्यक्तिको जिम्मामा हुर्किन बाध्य भएको तथा जैविक पिता उनीहरूबाट टाढै रहेको विवरण पनि सार्वजनिक भएका छन्।

समाजशास्त्री इभा इलुजले यस विषयमा समयमै कानुनी नियन्त्रण र नैतिक बहस आवश्यक रहेको बताएकी छन्। उनका अनुसार यस्तो प्रवृत्तिलाई नियन्त्रण नगरे भविष्यमा परिवार संस्थाको आधार नै कमजोर हुन सक्ने जोखिम छ ।