राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारको सय दिन सुशासन र नागरिक सेवाका हिसाबले सफल रहेको दाबी गरेका छन् ।
सरकार गठनको सय दिन पूरा हुन लागेको सन्दर्भमा सञ्चारकर्मीहरूलाई कुरा गर्दै सभापति लामिछानेले यो अवधिमा सरकारले नागरिकसँग प्रत्यक्ष जोडिएका विषय र सुशासनमा बढी जोड दिएको बताएका हुन् ।
उनले सरकारको ध्यान तुलनात्मक रूपमा सुशासनका मुद्दाहरूमा बढी केन्द्रित भएको उल्लेख गर्दै अहिलेको प्राथमिकता पनि यही नै रहेको स्पष्ट पारेका छन् ।
आम नागरिकले सेवा प्राप्त गर्ने निकायहरूलाई झन्झटरहित बनाउन, डिजिटल प्रविधिको प्रयोग बढाउन र होम डेलिभरी सेवाको सुरुवात गर्न सरकार लागिपरेको भन्दै बताए ।
सभापति लामिछानेले नागरिकका समस्या सम्बोधन गर्ने र सुशासनको जग बसाल्ने सवालमा सरकारको सुरुवाती सय दिन सफल रहेको दाबी गरे ।