सरकारले बर्दियाबाट जग्गाधनी (लालपुर्जा) वितरण सुरु गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका-४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिलामन्त्री प्रतिभा रावलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन् ।
मन्त्री रावलले बर्दियाबाट सुरु भएको लालपुर्जा वितरणलाई क्रमशः देशभर विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाइने पनि बताइन् ।