Jun 28 2026

Jun 28 2026 | आइतवार, आषाढ १४ गते २०८३

सडकमा खाल्डो भेटिए राज्यले पनि १ लाख जरिवाना तिर्नुपर्छ : ज्ञानेन्द्र शाही

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नागरिकका लागि मात्र नभई राज्यका लागि पनि जरिवाना तिर्ने कानुन बनाउनुपर्ने माग गरेका छन्। आज आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा जरिवाना गर्ने नयाँ कानुन ल्याउन लागिएको सन्दर्भमा राज्यलाई पनि जवाफदेही बनाउने व्यवस्था हुनुपर्ने बताएका हुन्।

उनले नागरिकले ट्राफिक नियम उल्लंघन गर्दा १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भए राज्य पनि उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै प्रश्न गरे, ‘नागरिकले जरिवाना तिर्ने, तर राज्यले गल्ती गरे जरिवाना तिर्ने कि नतिर्ने?’ नयाँ कानुन बनाउन प्रस्ताव राख्दै उनले भने,’ यदि नागरिकले १ लाख रुपैयाँ जरिवाना तिर्छन् भने, २४ घण्टाभित्र सडकको खाल्डो नपुरे, खाल्डो भेटिए राज्यले पनि १ लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ। ट्राफिक बत्ती मर्मत नगरे १ लाख, ट्राफिक प्रहरीले रुखो व्यवहार गरे ५० हजार, राति सडकबत्ती बिग्रिए ५० हजार, ट्रायल पास गरेको ७ दिनभित्र लाइसेन्स नआए ५० हजार रुपैयाँ जरिवाना तिर्ने व्यवस्था हुनुपर्छ।’

त्यस्तै, सडकको खाल्डोका कारण दुर्घटना भई कुनै नागरिकको ज्यान गए सम्बन्धित निकाय र ठेकेदारविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने कानुन बनाउन पनि उनले सरकारसँग आग्रह गरे।