जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
नियमअनुसार टोलीले खेल सुरु हुनुभन्दा २४ घण्टाभन्दा पहिले अमेरिका प्रवेश गर्न पाउँदैन र खेल सकिएलगत्तै देश छोड्नुपर्छ । इरानी अधिकारीहरूका अनुसार यस्ता व्यवस्थाले टोलीको प्रदर्शनमा प्रतिकूल असर पारिरहेको छ।
अमेरिकी नियमअनुसार इरानी खेलाडीहरू प्रत्येक खेलअघि अधिकतम एक दिनअघि मात्र अमेरिका प्रवेश गर्न सक्छन् र खेल समाप्त हुनेबित्तिकै फर्किनुपर्छ ।
इरानी अधिकारीहरूले यी प्रतिबन्धहरूले टोलीको अभियानलाई कमजोर बनाएको र यसलाई ‘राजनीतिक पूर्वाग्रहयुक्त हस्तक्षेप’ भएको भन्दै आफ्नो टोलीलाई विश्वकपकै ‘सबैभन्दा बढी उत्पीडित’ टोलीको रुपमा व्याख्या गरेको छ ।
प्रतियोगिता सुरु हुनुअघि अमेरिकाले इरानी खेलाडीहरूलाई भिसा दिए पनि केही सहयोगी कर्मचारीलाई प्रवेश अनुमति अस्वीकार गरेको थियो।
त्यसपछि टोलीले अमेरिकाको एरिजोनामा राख्ने भनिएको आफ्नो आधार शिविर परिवर्तन गरी मेक्सिकोको टिजुआनामा सारेको छ । अहिले टोली खेल हुने दिन मात्र अमेरिका प्रवेश गर्छ ।
इरानी समर्थकहरूका अनुसार यस्ता अवरोधहरू केवल खेल रणनीतिमा सीमित नभइ खेलमा राजनीति हावी भएको देखाउँछ ।
तेहरानका बासिन्दा आर्टिनले चाइना ग्लोबल टेलिभिजन नेटवर्कसँगको अन्तर्वार्तामा भने, ‘राजनीति फुटबलसँग गाँसिएको छ, जबकि त्यस्तो हुनुहुँदैन। तर इरानका जनता आफ्नो राष्ट्रिय टोलीको पूर्ण समर्थन छन् । तर त्यसले खेलाडी र सर्वसाधारणमाथि परेको राजनीतिक दबाब कम गर्दैन।’
इरानको फुटबल महासंघले विश्वकप आयोजकहरूमाथि आफ्नो प्रतिनिधिमण्डलमाथि अन्यायपूर्ण यात्रा प्रतिबन्ध लगाएको आरोप लगाउने गरेका छन् ।
एक अर्थशास्त्री साथै विश्वविद्यालयका प्राध्यापक तथा इरानका पूर्व राष्ट्रिय गोलरक्षक होसेन राघफारले त्यस्ता कदमहरु गैरकानुनी भएको बताए ।
‘ट्रम्पले सुरुदेखि नै इरानको राष्ट्रिय फुटबल टोलीलाई धम्की दिएका थिए । उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएका थिए । यस्ता अभिव्यक्तिहरू अन्तर्राष्ट्रिय खेलकुदको व्यवस्था र निष्पक्ष प्रतिस्पर्धाका आधारभूत सिद्धान्तहरूको स्पष्ट उल्लंघन हुन्,’ उनले भनेका छन् ।
राष्ट्रिय टोलीले भोगिरहेको दबाब इरानी जनताले दैनिक रूपमा सामना गरिरहेको आर्थिक कठिनाइको प्रतिबिम्ब पनि हो ।
हालै हटाइएको अमेरिकाको नौसैनिक नाकाबन्दीका कारण इरानको तेल आम्दानीमा असर परेको र जसले देशको आर्थिक संकटलाई अझ गहिरो बनाउँदै लगेको छ ।
सन् २०२६ को फिफा विश्वकप अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप हो । जसमा कीर्तिमानी ४८ टोली सहभागी छन्। जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुने यस प्रतियोगिताको संयुक्त आयोजना मेक्सिको, क्यानडा र संयुक्त राज्य अमेरिकाले गरेका छन्।