शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढेको बताएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा उनले टीकापुर क्याम्पसको अतिक्रमणमा परेको ३०० बिघा जमिन प्रयोगमा ल्याउन काम सुरु भइसकेको स्पष्ट पारे।
मन्त्री पोखरेलले विश्वविद्यालयको दीक्षित हुने सङ्ख्या विगतको तुलनामा दोब्बर बढेकामा सराहना गरे । “यसअघि एक हजार ३०० विद्यार्थी दीक्षित भएको रहेछ”, उनले भने, “अहिले दुई हजार ४०० भन्दा बढी विद्यार्थी दीक्षित भए ।”
मन्त्री पोखरेलले स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गरिने बताउँदै मन्त्री पोखरेलले भने, “विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीप दैनिक जीवनमा प्रयोग गर्नुहोला ।”
विश्वविद्यालयका छवटै सङ्कायका स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी तहका विद्यार्थी एकैपटक दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । त्यस अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न छात्रछात्रालाई चान्सलर, भाइस चान्सलर, स्वर्ण पदक तथा डिन पदक प्रदान गरियो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार चान्सलर पदक व्यवस्थापन सङ्कायका निशान्त चन्द र भाइस चान्सलर पदक कृषि विज्ञान सङ्कायका कैलाशराज भट्टले प्राप्त गरेका छन् । उक्त विश्वविद्यालयबाट यसपटक विद्यावारिधि (पीएचडी) गर्ने पहिलो महिला छात्राका रूपमा डा तुलसीकुमारी शर्मासमेत दीक्षित भएका छन् ।