Jun 26 2026

Jun 26 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आजै साँझ हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण आजै हुने भएको छ । 

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार आजै साँझ साढे ६ बजे महाधिवेशन आयोजना स्थल उद्योग बाणिज्य संघको हलमा शपथ हुने कार्यक्रम तय गरिएको छ । 

रास्वपाको प्रथम चरणको मतदानबाट सभापति र ९९ केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने दोस्रो चरणमा उपसभापति डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचित भएका छन् ।  त्यस्तै एक महिला उपसभापति, एक महामन्त्री, ३ सहमहामन्त्रीको अहिले मतदान जारी रहेको छ ।  मतदान साढे ४ बजेसम्म जारी रहने आयोगले जनाएको छ । 

१५८ सदस्यीय रास्वपाको केन्द्रीय समितिमा ५१ सदस्य सभापतिले मनोनित गर्ने वैधानिक व्यवस्था रहेको छ ।  त्यस्तै पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, २ सहमहामन्त्री, एक प्रवक्ता र ३ सहप्रवक्ता पनि सभापतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।