Jun 26 2026

Jun 26 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

स्याङ्जामा बोलेरो दुर्घटना : एकको मृत्यु, २० जना घाइते

स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा डबल क्याप बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

ताप्केतर्फबाट वालिङ आउँदै गरेको बा.आ.अ. ७९०५ नम्बरको बोलेरो जिप सडकछेउमा पल्टिँदा वालिङ नगरपालिका–७ निवासी २५ वर्षीय राजेन्द्र बिरकट्टाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपमा चालकसहित २२ जना सवार थिए । दुर्घटनामा घाइते भएका सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका लागि लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि १७ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने दुई जनालाई बुटवल पठाइएको छ । एक बालकको भने प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ ।

पोखरा रिफर गरिएकामध्ये वालिङ-७ की ४६ वर्षीया रुपकला सारू, रुपन्देही गैडाहवा गाउँपालिका-४ की ५५ वर्षीया सुमित्रा गुरुङ र नवलपरासी (पूर्व) कावासोती नगरपालिका-५ की ४१ वर्षीया मायादेवी सुनारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ ।

दुर्घटनामा संलग्न जिप चालक वालिङ–७ निवासी २८ वर्षीय मीनबहादुर सारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।