Jun 26 2026

Jun 26 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार बिरुवा वितरणसँगै रोपण सुरु गरेको छ । 

व्यावसायिक कृषि विस्तार, आयआर्जन वृद्धि तथा स्थानीय नागरिकलाई स्वरोजगार बनाउने लक्ष्यका साथ यो अभियान थालिएको हो ।

कार्यालयको अगुवाइमा सामुदायिक वन, निजी जग्गा तथा अन्य उपयुक्त क्षेत्रमा रोपण सुरु भएको हो । किसानलाई कार्यालयले प्राविधिक परामर्श पनि दिने गरेको छ । 

वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार टिमुरखेतीलाई अभियानकै रूपमा अघि बढाइएको छ । ‘कृषक तथा स्थानीयलाई यसतर्फ आकर्षित गरी उनीहरूको आय बढाउनु अभियानको उद्देश्य हो ।’, उनले भने, ‘५०० भन्दा बढी बिरुवा रोपण गर्ने कृषक तथा समूहलाई उनीहरूका घरमा नै बिरुवा पुर्‍याउने व्यवस्था मिलाइएको छ ।’

सन्धिखर्क नगरपालिकाको दुर्गाफाँट, भूमिकास्थान नगरपालिकाको पोखेडाँडा, शितगङ्गा नगरपालिकाको डोहोटे तथा मालारानी गाउँपालिकाका खन र मथुरालगायत क्षेत्रमा नर्सरीमा बिरुवा उत्पादन हुँदै आएको छ ।