Jun 21 2026

Jun 21 2026 | आइतवार, आषाढ ७ गते २०८३

रुम नायक बन्दा कुरासाओले इतिहास बनायो, जर्मनी नकआउट चरणमा

फिफा विश्वकप २०२६ समूह ‘ई’ अन्तर्गत कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्दै आफ्नो इतिहासकै पहिलो विश्वकप अंक हासिल गरेको छ ।

कान्सास सिटी स्टेडियममा भएको खेलमा कुरासाओका गोलरक्षक एलोय रुम नायक बने । उनले विश्वकप इतिहासकै कीर्तिमान बराबरी गर्ने गरी १५ वटा प्रहार बचाउ गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण अंक दिलाए ।

३७ वर्षीय रुमले अमेरिकाका पूर्व गोलरक्षक टिम हावर्डको विश्वकपमा एक खेलमा सर्वाधिक १५ सेभ गर्ने कीर्तिमान बराबरी गरेका हुन् । हावर्डले सन् २०१४ मा बेल्जियमविरुद्धको खेलमा १५ सेभ गरेका थिए ।

खेलको तेस्रो मिनेटमै रुमले इक्वेडरका कप्तान एनर भ्यालेन्सियाको नजिकबाट आएको प्रहार रोकेर आफ्नो उत्कृष्ट प्रदर्शनको सुरुआत गरेका थिए । 

कुरासाओले पनि केही अवसर सिर्जना गरेको थियो । दोस्रो हाफमा लिएन्ड्रो बाकुना को प्रहार इक्वेडरका गोलरक्षकले बचाए भने लिभियाना कोमेनेन्सियाको प्रयास पनि गोलमा परिणत हुन सकेन ।

इक्वेडरले खेलभरि २७ पटक प्रहार गरे पनि गोल गर्न असफल रह्यो । यसअघि पहिलो खेलमा आइभरी कोस्टसँग १–० ले पराजित भएको इक्वेडरले दुई खेलमा गोल गर्न सकेको छैन ।

इक्वेडरमाथि अब दबाब बढेको छ । टोलीले पहिलो दुई खेलबाट केवल एक अंक बटुल्न सफल भएको छ भने गोलको खाता खोल्न सकेको छैन ।

यसअघि विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा जापानले ट्युनिसियामाथि ४–० को प्रभावशाली जित निकालेको छ ।

नेदरल्यान्ड्ससँग पहिलो खेलमा २–२ को बराबरी खेलेको जापानले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।

त्यस्तै, ट्युनिसिया लगातार दोस्रो हारसँगै समूह चरणबाट बाहिरिने जोखिममा पुगेको छ।

यता, जर्मनी लगातार दुई जितसहित विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । आइतबार बिहान सम्पन्न खेलमा आइभरी कोष्टलाई २–१ ले पराजित गर्दै जर्मनी अन्तिम ३२ मा पुगेको हो ।

यसअघि सहआयोजक राष्ट्रहरू मेक्सिको र अमेरिका अन्तिम ३२ मा पुगिसकेका छन् ।