Jun 21 2026

Jun 21 2026 | आइतवार, आषाढ ७ गते २०८३

रास्वपाको महाधिवेशनमा श्रम संस्कृति पार्टी सहभागी नहुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा श्रम संस्कृति पार्टी सहभागी नहुने भएको छ। चितवनको भरतपुरमा आजदेखि सुरु हुने महाधिवेशनका लागि रास्वपाले निमन्त्रणा पठाए पनि व्यस्तताका कारण आफूहरू उपस्थित हुन नसक्ने श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जानकारी दिए।

“निमन्त्रणा आएको हो, तर कार्यव्यस्तताका कारण हामी सहभागी हुन नभ्याउने भयौँ,” उनले भने। रास्वपाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन सबै राजनीतिक दलका अध्यक्ष तथा सभापतिहरूलाई निमन्त्रणा पठाएको थियो। सोही अनुरुप केही प्रमुख दलहरूबाट प्रतिनिधित्व रहने निश्चित भएको छ।

उद्घाटन सत्रमा नेपाली कांग्रेसबाट नेत्री पुष्पा भुसाल, नेकपा (एमाले)बाट नेता प्रदीप ज्ञवाली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट नेता वर्षमान पुन सहभागी हुने कार्यक्रम तय भएको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन भने स्वयं उपस्थित हुनेछन्।

प्रमुख दलहरू कांग्रेस, एमाले र नेकपाले उद्घाटन सत्रमा आफ्ना शीर्ष नेतृत्वको सट्टा दोस्रो तहका नेताहरूलाई पठाउने निर्णय गरेका छन्। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन भरतपुरमा आजदेखि सुरु भई असार ९ गतेसम्म चल्नेछ।