बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् ।
आइतबार बिहान ७: १० बजे महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो ।
बस खप्तड छेडेदह गाउँपालिका–०५ दोगडी बस्ने ४३ वर्षीय खडक बुढाले चलाएका थिए । दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले २४ जना घाइतेलाई उद्धार गरी २३ जनालाई उपचारको लागि जिल्ला अस्पताल मार्तडी र १ जना घाइतेलाई प्रादेशिक अस्पताल बयलपाटा अछाम पठाईएको छ ।
उक्त बसमा चालक सहित ३३ जना सवार रहेकोमा ९ जना यात्रु सकुशल रहेका छन् भने घटनाबारे थप अनुसन्धान समेत भईरहेको छ ।