Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

उबरले थाल्यो नेपालमा सेवा, काठमाडौंमा बाइक र कार उपलब्ध

विश्वव्यापी राइड–सेयरिङ प्लेटफर्म उबरले नेपालमा आफ्नो औपचारिक सेवा सुरु गरेको छ । कम्पनीले शुक्रबार नेपालमा सेवा शुभारम्भ गरेको घोषणा गर्दै दक्षिण एशियामा एक दशकपछि नयाँ बजारमा विस्तार गरेको जनाएको हो । 

उबरका अनुसार नेपाल एशिया–प्रशान्त (एपीएसी) क्षेत्रको ११औँ बजार बनेको छ । कम्पनीले काठमाडौंमा चारपाङ्ग्रे सवारीतर्फ ‘उबर गो’ र ‘उबर कम्फर्ट’ तथा दुईपाङ्ग्रे सवारीतर्फ ‘उबर बाइक’ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

photo-4_e058141f.jpg

उबरका एशिया–प्रशान्त क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलरले नेपाललाई बढ्दो डिजिटल पहुँच, शहरी यातायातको आवश्यकता र सशक्त पर्यटन क्षेत्र भएको सम्भावनायुक्त बजारका रूपमा चित्रण गरे। उनले नेपालमा उबरको प्रवेश दक्षिण एशियामा कम्पनीको विस्तार यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए ।

photo-3_6f1fcd8d.jpg

आज जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा उबर सेवा सुरु गर्न पाउँदा हामी उत्साहित छौं । नेपाल हाम्रो विश्वव्यापी मोबिलिटी सञ्जालको महत्वपूर्ण हिस्सा बनेको छ । हामी यात्रु, चालक तथा पर्यटकहरूको आवश्यकतालाई सम्बोधन गर्दै नेपालको यातायात क्षेत्रको विकासमा योगदान दिन चाहन्छौं ।’

photo-7_db409624.jpg

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले उबरको आगमनले नेपालको पर्यटन क्षेत्रलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय पर्यटक तथा स्वदेशी यात्रुका लागि सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउन यसले सहयोग पुग्ने बताए ।

यस्तै, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिक्देलले उबरको प्रवेशले नेपालको आर्थिक सम्भावना र डिजिटल पूर्वाधारप्रतिको अन्तर्राष्ट्रिय विश्वासलाई प्रतिबिम्बित गर्ने बताए । स्मार्ट मोबिलिटी समाधानले शहरी यातायात व्यवस्थापन, रोजगारी सिर्जना तथा पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने उनको भनाइ छ ।

photo-6_375e458a.jpg

कम्पनीका अनुसार नेपालमा स्मार्टफोन प्रयोगकर्ता संख्या वृद्धि, शहरीकरण, पर्यटन विस्तार तथा सहज यातायात सेवाको बढ्दो मागलाई मध्यनजर गर्दै सेवा विस्तार गरिएको हो ।

सन् २०१० मा स्थापना भएको उबर हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा छ । कम्पनीले हालसम्म ७५ अर्बभन्दा बढी यात्रा सेवा प्रदान गरिसकेको जनाएको छ ।

photo-1_6a4d5f97.jpg