Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

धनुषा ट्राफिकले उठायो एक करोड १४ लाख राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२-८३ मा एक करोड १४ लाख नौ हजार ५०१ राजस्व संकलन गरेको छ । 

प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२-८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा एक करोड १४ लाख नौ हजार ५०१ राजस्व संकलन भएको जानकारी दिए ।  

आव २०८१-८२ मा २८ हजार ५३८ सवारीसाधनमाथि कारबाही गर्दा दुई करोड २१ लाख १० हजार ५०० राजस्व संकलन गरेको थियो । धनुषा जिल्लामा आव २०८२-८३ मा भएको एक हजार ३५८ सवारी दुर्घटनामा परी ८२ जनाको मृत्यु भएको छ भने दुई हजार १९८ जना घाइते भएका छन् । 

अघिल्लो आव २०८१-८२ मा धनुषामा एक हजार २२१ सवारी दुर्घटना हुँदा ८४ जनाको मृत्यु भएको थियो । 

पछिल्ला केही वर्षयता धनुषा जिल्लामा सवारी दुर्घटना बढे पनि दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्यामा कमी आएको देखिन्छ । सडकको नाजुक अवस्था, मानवीय लापर्वाहीलगायतका कारण बितेका वर्षमा सवारी दुर्घटना केही बढे पनि दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या घटेको प्रहरी निरीक्षक दाहालले बताए। 

पछिल्ला वर्षमा ट्राफिक सचेतना र नियमित ट्राफिक चेकजाँचका कारण सवारी दुर्घटनामा कमी आएको प्रहरी निरीक्षक दाहालको दाबी छ ।