Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

पुँजी बजार सुधार सरकारको विशेष प्राथमिकतामा छ- प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि पुँजी बजारलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पुँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिसँग भएको छलफलमा उनले नेपालको पुँजी बजारलाई थप व्यावसायिक, पारदर्शी र व्यवस्थित बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको बताए । साथै, राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने र अनियमितता तथा गल्ती गर्नेमाथि शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारेका थिए ।

छलफलका क्रममा पुँजी बजारका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत र संस्थागत सुधार आवश्यक रहेको बताएका थिए । उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीलाई थप पारदर्शी बनाउने, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन कायम गरी उचित मूल्य निर्धारण प्रणाली विकास गर्ने, मार्जिन कर्जा प्रवाह सहज बनाउने तथा गैरआवासीय नेपालीलाई पनि पुँजी बजारमा लगानी गर्ने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका थिए ।

त्यसैगरी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा सक्रिय बनाउनुपर्ने, धितोपत्रसम्बन्धी विद्यमान केही व्यवस्थामा संशोधन गर्नुपर्ने र नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना अघि बढाउनुपर्ने सुझाव पनि सहभागीहरूले दिएका थिए।

छलफलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र कार्यान्वयनमा ल्याइसकिएको जानकारी दिए । नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले पनि पुँजी बजार सुधारसँग सम्बन्धित आवश्यक कानुनी तथा संस्थागत सुधार प्रक्रिया अघि बढिसकेको बताउँदै धितोपत्र कारोबारलाई अझ प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए ।